पोखरा / पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजभन्दा २५ वर्षअघि बस्ती पातलो थियो, फेवाताल कञ्चन थियो अनि पर्यटकीय गतिविधि पनि धीमा नै थियो । अन्नपूर्ण क्षेत्र घुम्ने र फर्कनेहरु पोखरालाई मुकाम बनाउँथे तर अंग्रेजी नयाँवर्ष आउनासाथ उनीहरु भारततिर लाग्थे । अंग्रेजी नयाँवर्षमा लेकसाइडमा मनोरञ्जनात्मक गतिविधि नहुनु र भारतको गोवाले नयाँवर्ष भव्य रुपले मनाउने भएकाले पर्यटकहरुको रोजाइ गोवा हुन्थ्यो ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँवर्षमा गोवामा मानव सागर उर्लेको देखेका थिए । भयो कस्तो भने,हिउँदे बिदा मनाउन पोखरा आएका राजा वीरेन्द्रले एकदिन गणेशसँग पर्यटकलाई पोखरामै अड्याउने उपाय के हुन्छ भन्ने प्रश्न राखेछन् ।
राजाले पनि चासो देखाएपछि गणेशको दिमागमा अंग्रेजी नयाँवर्षको छेकोमा सडक महोत्सव आयोजना गनुपर्ने कुरा आएछ । रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्षसमेत रहेका उनले साथीहरुसँगको सरसल्लाहपछि सडक महोत्सव आयोजनाको तारतम्य मिलाएछन् ।
उनै गणेशले सुरु गरेको पोखरा महोत्सव अहिले नेपालकै सवैभन्दा बढी सहभागिता हुने ‘सडक महोत्सव’ बनेको छ । ‘सडकै खाऔं, सडकमै नाचौं,सडकमै रमाऔं’ भन्ने नारासहित सुरु भएको यही सडक महोत्सवको रजत संस्करण आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना हुने भएको छ ।
महोत्सवका संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रमा करिव ३ किलोमिटर क्षेत्रमा आयोजना हुने महोत्सवको रजत संस्करण भव्य हुनेछ ।
महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेसलगायतका मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।





