
पोखरा / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा मंगलबार समिति गठन गरिएको हो ।
समितिको सदस्यमा योजना आयोगका सदस्यहरु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश (उद्योग तथा पर्यटन) सचिव, सहरी योजना आयोग, पोखरा महानगरपालिका, कास्कीका उपाध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख, पोखरा पर्यटन परिषद्का प्रमुख, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष, पर्यटन विज्ञद्वय रामजी शर्मा र वासुदेव त्रिपाठी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, पर्यटक प्रहरी प्रमुख, नेपाल पत्रकार महासंघ कास्की रहेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुखले सचिवको रुपमा काम गर्नेगरी जिम्मेवारी तोकिएको छ ।
पोखराको नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिको कार्यक्षेत्र र कार्यावधि तोकिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्नेसम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिसकेको छ ।
अवधारणापत्रबमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाँण्डेले बताए ।





