बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कुहिरोको काग भयौः कृषि मन्त्री जिसी

कुहिरोको काग भयौः कृषि मन्त्री जिसी


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८०, बुधबार

पोखरा / गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले आफुहरु काम गर्ने क्रममा कुहिरोको काग भएको बताएका छन । आफु कृषिमन्त्री भएपछि कृषिमा केके काम गर्नुभयो भनेर सोध्ने गरेको तर के गरे भन्ने आफैलाई थाहा नभएको उनको भनाइ थियो ।

‘मलाई मात्र होइन सचिवलगायतलाई पनि के काम गरियो भन्ने थाहा छैन’, प्रदेशसभा अन्तर्गत सामाजिक बिकास तथा कृषि समितिले गण्डकी प्रदेशमा विउबिजन सम्बधि व्यवस्था गर्न बनेको बिधेयकमाथि विज्ञसंगको छलफलका क्रममा मन्त्री जिसीले बुधवार भने, ‘के गर्ने नगर्ने अन्यौल छ, के गरियो गरिएन हामी कुहिरोको काग भएका छौ ।’

मन्त्री जिसीले आफ्नै काम कारवाहीबारे यसो भनिरहदा संगै रहेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं वर्तमान सांसद बिन्दुकुमार थापाले यस्तो भन्नु भएन, यो कुरा मिडियामा जान्छ भनेर रोक्न खोजेका थिए । तर मन्त्री जिसी नरोकिइकन आफुले पारदर्शी कुरा गरेको भन्दै भनाइलाई निरन्तरता दिइरहेका थिए ।

मन्त्री जिसीले कृषिमा नीतिगत तहमै व्यापक छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिए । ‘हामी उडेर काठमाडौं पुग्ने कुरा गर्ने तर गाडीमा चढेर ब्याक गियरमा हिडेको जस्तो भएको छ’, उनले भने । जिसीले एकातिर सिंचाइको आवस्यकता पर्ने तर अर्कोतिर सिंचाइ कुलो बनाउने काम भएको बताउँदै अन्तर मन्त्रालयबीच समन्वयको अभाव रहेको समेत औल्याए । उनले कुनैपनि कुराको समाधान राजनीतिकरण नभई कृषिकरण रहेको बताए ।

विधेयकमाथि कृषिविज्ञहरु मदन थापा, बेनीबहादुर बस्नेत र बालकृष्ण गिरीले आआफ्नो सुझाव राखेका थिए । उनीहरुले विउबिजनसम्बन्धी परीक्षणका लागि प्रयोगशालाको आवस्यकता पर्ने बताए । साथै स्थानीय तहमा पनि समिति गठन गरी गुणस्तरीय विउबिजन उत्पादन र विक्री वितरणमा सहज बनाउन सकिने, प्रदेशस्तरीय सामुदायिक विउविजन बैंक स्थापनाका लागि आवस्यक प्राविधिक र नीतिगत व्यवस्था गर्ने, विउविजनसम्बन्धी प्रदेशस्तरीय वासलात तयार गर्नुपर्ने सुझाव उनीहरुको थियो । वासलातका आधारमा बिउविजनको माग र आपूर्तिमा सहयोग पुग्ने उनीहरुले बताए ।

बस्नेतले जटील अवस्थामा विउविजनको व्यवस्थापनका लागि पनि सोच्नुपर्ने भन्दै प्रस्तावनामै खाद्य सुरक्षाका लागि गुणस्तरीय विउ भन्ने उल्लेख गर्नुपर्ने बताए । गिरीले मन्त्रालयको सचिवलाई समितिको अध्यक्ष तोक्दा उसले कसरी प्राथमिकतामा पारेर काम गर्न सक्छ भन्दै यसमा विचार गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु विन्दुकुमार थापा, अशोककुमार श्रेष्ठ, बेदबहादुर गुरुग, भक्त कुँवर, राजिव गुरुग, महेश भटराइ, दिलमाया पौबिले विधेयकमाथि आआफ्नो भनाइ राखेका थिए । विधेयकमाथि सांसद बेदबहादुर गुरुगले संसोधन प्रस्ताव पेश गरेका छन ।

सामाजिक बिकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले सैद्धान्तिक छलफलपछि विधेयक समितिमा आएको र अहिले सबै पक्षसंग सुझाव माग्ने काम भइरहेको बताए । कृषकको जीवनस्तर, खाद्यसुरक्षासंगसमेत सम्बन्धित रहेकाले समितिले यो विधेयकलाई बढी प्राथमिकतामा राखेर विज्ञसंगसमेत छलफल गरिएको र छिटै कृषकलगायत अन्य सरोकारवालासंग पनि छलफलको तयारीमा रहेको उनको भनाइ छ । त्यसपछि दफावार छलफल गरी विधेयकको अन्तिम टुंगो लगाइने उनले बताए ।

बिउबिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय विउको उपलब्धतामार्फत बालीको उत्पादन र उत्पादकत्व बृद्धि गरी कृषकको सुविधा तथा आर्थिक हित कायम राख्न भन्दै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश विउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->