पोखरा / पोखरामा आगामी शुक्रबारदेखि प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । कृषिसम्बन्धि आधुनिक प्रविधि तथा उपकरणहरुको बारेमा जानकारी दिने उदेश्यका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको आयोजना हुन लागेको हो ।
नेपालको कषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकरण। औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुगोस् भन्ने हेतुले प्रदर्शनीको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । पोखरामा मंगलबार प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कृषि यन्त्रको बारेमा ज्ञान नहुँदा किसानलाई मर्का परिरहेको सुनाए ।
सोही क्रममा बोल्दै कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले कृषकहरुका लागि यो प्रदर्शनी फलदायी हुने प्रतिक्रिया दिए । उनले किसानहरुका लागि लगानीको अवसरसमेत हुने बताए । गण्डकी प्रदेशमा करिब ८ देखि १० प्रतिशत कृषकले विभिन्न यन्त्रको प्रयोग गरि कृषि गरिरहेका छन् । प्रदर्शनीमा कृषिसम्बन्धि नयाँ तथा पुराना यन्त्रको बारेमा प्रयोगात्मक परीक्षण गरेरै देखाइनेछ ।
प्रदर्शनीमा चिन, भारत, स्विडेन, ब्राजिल, डेनमार्क, कोरिया लगायत १० भन्दा बढी राष्ट्रका एक हजार बढी प्रकारका उपकरण तथा प्रविधिहरु, नेपालमै निर्मित उपकरण तथा प्रविधि, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल मुख्य आकर्षणको रुपमा रहनेछन् ।
पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि तीन दिनसम्म चल्ने प्रदर्शनी नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको हो ।
प्रदर्शनीको प्रबद्र्धकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको छ भने विभिन्न सहयोगि संस्थाहरु रहेका छन् ।
प्रदर्शनीमा ४० जिल्लाका करिब ३० हजार बढी कृषकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । उक्त प्रदर्शनी गण्डकी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको हो । यस अघि चितवन, बाँके, काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शनी भएको थियो ।





