पोखरा/ पोखरामा शुक्रबारदेखि प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको सुरु भएको छ । नेपालको कषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुगोस् भन्ने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो ।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले प्रदर्शनीको उद्घाटनपश्चात सम्बोधन गर्दै किसानका लागि आवश्यक यान्त्रिकरण बिक्री गरेर मात्र नहुने र त्यसलाई कसरी दीर्घकालिन रुपमा संचालन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । नेपालको लाइफ लाइनको रुपमा कृषि क्षेत्र रहेको र देशको आर्थिक मेरुदण्ड समेत रहेपनि पछिल्लो समय २६ प्रतिशतमात्र कृषिमा आधारित रहेको उनको भनाइ थियो । कुनैबेला कृषि प्रधान देशको रुपमा परिचित कृषि अहिले निर्वाहमुखी हुन दुःखद् भएको बताउँदै मन्त्री जिसीले २०४६ सालपछि कृषिलाई उपेक्षा गरिँदा दयनीय स्थितिमा पुगेको तर्क गरे ।
‘देशमा उत्पादन र उत्पादकत्व नभए आर्जित धनको कुनै मोल हुँदैन । देशलाई आत्मनिर्भर बनाउने मुख्य क्षेत्र कृषिमा राज्यको उचित नीति आवश्यक रहेको छ,’उनले भने,‘ तर, कृषिमा जसरी लाग्नुपर्ने त्यो तरिकाले लागेको देखिदैन् । उसो त कृषि क्षेत्रलाई प्रबद्र्धन गर्न राज्य निकै पछाडी परिसकेको छ । त्यतिमात्र होइन् युवा कृषि क्षेत्रलमा लागेपनि उचित मुल्य नपाउँदा हतोत्साही हुँदै बाहिर जान बाध्य छन् ।’
कृषिमन्त्री जिसीले राज्यको कृषि सम्बन्धि नीति एकातिर र किसानको समस्या अर्कातिर रहेको पनि स्वीकारे ।
‘म पनि किसान नै हुँ । मैले हिजो किसानी गर्दा र अहिले सरकारमा हुँदा धेरै फरक पाएँ । सरकारको कृषिप्रतिको हेराइ र बुझाइ फरक हुँदो रहेछ, वास्तविकता फरक छ । राज्यको नीति निर्माण एकातिर छ भने समस्या एकातिर,’ उनले भने, ‘अहिले कृषि क्षेत्रको अवस्था साँच्चै भन्ने हो भने भयावह स्थितिमा छ । किसानले अनुदान नपाएको गुनासो गर्छ । खेतीपाती, पशुपालन एकातिर हुन्छ, गोठ अर्कातिर ।’ उनका अनुसार राज्यले अनुदानको नाममा कार्यकर्ता पाल्दै आइरहेको छ । राज्यले प्रदान गर्ने अनुदानमा वास्तविक किसानको पहुँच नपुग्दा उपलब्ध शून्य रहेको छ । तर, गण्डकी प्रदेशले दोस्रो पञ्चवर्षिय योजनामा कृषिलाई प्रमुख प्राथमिकता दिएर अघि बढेको उनले सुनाए ।
उनले राज्यले प्रदान गर्ने अनुदान र यान्त्रिकरण एकै भएको सुनाए । अनुदान वास्तविक किसानले नपाएझै यान्त्रिकरणमा समेत समस्या भएको बताए । ‘यान्त्रिकरण र अनुदान उस्ताउस्तै छ । यहाँ पालिकाले ट्याक्टर बाडेको देखें, हाम्रै मन्त्रालयले पनि बाड्यो । अब यहाँ व्यापार गर्नेहरुले कमिशन लिएर बेच्ने हो । यहाँ कमिशन लिएर मात्र बेच्ने होइन, त्यसको पार्टपुर्जा र सर्भिसिङको ज्ञान समेत दिन जरुरी छ । तपाईँहरुले पार्ट्सको सपोर्ट पनि गर्नपर्छ ।’
एक समय भूगोल अनुसारको यान्त्रिकरण नहुँदा आफू यन्त्र दिनुभन्दा गोरु दिन ठीक भएको भन्ने कुरामा पुगिसकेको उनको भनाइ थियो । यन्त्रबारे राम्रो ज्ञान नहुँदा किसानले एक÷दुई पटक चलाएपछि बिग्रिँदा भोलिका दिनमा यो व्यवसाय नै धरापमा पर्ने हुदाँ समयमै सचेत हुन समेत उनले आग्रह गरे ।
कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले नेपालमा कृषि गर्नेहरुको संख्यामा दिनानुदिन कमी आइरहेको सुनाए । उनले कृषिमा उत्पादन लागत महँगिने र सस्तोमा बेच्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण युवाहरुमा विकर्षण बढिरहेको बताए । प्रदर्शनीले यान्त्रिकरण वितरण गर्ने कम्पनीलाई समेत गण्डकी प्रदेशको भूगोल अनुसार कुन–कुन यन्त्र कसरी दिन सकिने भन्ने ज्ञान हुने र विविध यन्त्रहरुको बारेमा किसानलाई जानकारी समेत मिल्ने बताए । कम्पनी र व्यवसायमा भर नपरी सनो भए पनि मेला आयोजना गर्दै रैथाने बाली सहित विभिन्न क्रीयाकलाप मार्फत जानकारी दिने उदेश्य रहेको उनले सुनाए । ‘हाम्रो मुख्य उद्धेश्य भूगोल सुहाउँदो यन्त्र भित्र्याउने प्रयास हो । कुन ठाउँमा ठूला मेसिनरी र कुन ठाउँमा साना मेसिनरी प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान दिनु यसको अर्को उदेश्य हो,’ उनले भने ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीमा किसानका लागि विशेष छुटमा प्रविधि बिक्रीसँगै आवश्यक ज्ञान समेत प्रदान गरेको सुनाए । उनले किसान हितका लागि नै यान्त्रिकरण प्रदर्शनी आयोजना गरेको बताए ।
पोखरा प्रदर्शनी केन्द्रमा तीन दिनसम्म चल्ने प्रदर्शनी नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको हो । प्रदर्शनीको प्रबद्र्धकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको छ भने विभिन्न सहयोगी संस्थाहरु रहेका छन् ।





