बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी विश्वविद्यालयमा व्यथिति : डीनसँगै रजिस्ट्रार र परीक्षा नियन्त्रकविरुद्ध अख्तियारमा ४ वटा उजुरी

गण्डकी विश्वविद्यालयमा व्यथिति : डीनसँगै रजिस्ट्रार र परीक्षा नियन्त्रकविरुद्ध अख्तियारमा ४ वटा उजुरी


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८०, मंगलबार

पोखरा/ गण्डकी विश्वविद्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चारवटा उजुरी परेका छन् । उजुरीहरु विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानून विपरीतका निर्णयहरुप्रति लक्षित छन् ।

गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐनअन्तर्गतको गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत नै डीन, रजिष्ट्रार र परीक्षा नियन्त्रक नियुक्ति गरिएको जिकिरसहित उजुरी परेको हो । डीन नियुिक्त विषयमा २ वटा, विश्वविद्यालयका रजिस्टारविरुद्ध एउटा र परीक्षा नियन्त्रकविरुद्ध अर्को उजुरी परेको अख्तियार स्रोतले पुष्टि ग¥यो ।

विश्वविद्यालय ऐन तथा गण्डकी विश्व विद्यालय संगठन तथा शैशिक प्रशाशन नियमावली, २०७७ को परिच्छेद १९ को दफा ४९ मा रजिष्ट्रारको व्यवस्था गरी निजको योग्यताको अनुभवको व्यवस्था उल्लेख गरेको छ ।

नियमावलीको नियम ४५ (१) मा ‘रजिष्ट्रारको पदमा नियुक्त हुन का लागि कम्तीमा स्नात्तकोतर गरेको, कम्तीमा (१०) दस वर्ष अनुसन्धान वा अध्यापन गरेका वा–व्यवस्थापकिय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ तथा उल्लेखित नियमको उपदफा (२) मा उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि यस विश्वविद्यालयको वरिष्ठ प्रशासक को रुपमा चार (४) वर्ष काम गरेको व्यक्ति रजिष्ट्रार का लागि योग्य मानिने छ’ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ ।

स्रोतका अनुसार कानूनी व्यवस्था अनुसार विश्वविद्यालयमा नियुक्त भएका र हालसम्म कार्यरत रहेका रजिष्टार कैलाश तिमिल्सिनासँग स्नातकोत्तर उत्तीर्ण पश्चात कम्तीमा दश वर्षको अनुसन्धान वा अध्यापन गरेको वा सरकारी व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव छैन । वरिष्ठ प्रशासक हुन चार वर्ष काम गरेको व्यक्तिसमेत नरहेको पनि उजुरीकर्ताको जिकिर छ ।

यस्तै अख्तियारमा परेको उजुरीमा भनिएको छ,‘कानूनी विपरीत नियुक्त भएका रजिष्ट्रार कैलाश तिमिल्सिना रजिष्ट्रार हुन योग्य छैनन् ।यस्तो अवस्थामा आयो असक्षम व्यक्तिलाई पावर, पहुँच, भनसुन कुनै अमुक व्यक्तिको सिफारिसका आधारमा रजिष्ट्रारलाई नियुक्त गर्ने पदाधिकारीले आफ्नो प्राप्त अधिकारको दुरुपयोग गरी जनताको रगत पसिना र करले स्थापित सार्वजनिक वा सरकारी विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गर्नु विधि, पद्धति, नेपालको संविधान, कानूनी र प्रकृया समेतको विपरित जन्य कार्य हो ।’

रजिष्टार कैलाश तिमिल्सिनाले चाहिँ सबै प्रक्रिया पूरा गरेरै आफू सो पदमा आएको जिकिर गरे । त्यसअघि निजी क्याम्पसको निर्देशकको रुपमा काम गरेको स्मरण गर्दै स्वदेशमै केही गरौं भन्ने भावनाले निर्देशित हुँदा आफू सो पदमा पुगेको बताए । ‘मेरो योग्यता पुगेकै कारण म खुल्ला प्रतिस्पर्धाबाट यो विद्यालयमा आएँ ।

उजुरी पर्नुलाई म सकरात्मक नै लिन्छु तर यसका लागि म सँग सबै प्रमाण छन्,’ उनले भने, ‘विश्वविद्यालयलाई राम्रो बनाउनु सबैको उत्तिकै दायित्व हुन्छ । विश्वविद्यालयलाई राम्रो बनाउनका लागि भन्दै उजुरी प¥यो होला यसमा म गम्भीर छु तर म पनि उहाँहरुकै साथमा रहनेछु ।’
उनी स्कूल अफ इन्भ्वाइरोमेण्टल साइन्स एण्ड म्यानेजमेन्टका एकेडेमी डाइरेक्टरको रुपमा रहँदै आएका छन् ।

उजुरीमा अयोग्य व्यक्तिलाई रजिष्ट्रार पदमा नियुक्त गरी सरकारी आयव्ययको हिनामिना गरी सरकारलाई व्ययभार बढाउने काम भएको आरोप लगाइएको छ ।

यस्तै विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्ध पनि सोही प्रकृतिको उजुरी परेको हो । एक कार्यक्रमका डीनलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रुपमा कार्यभार संचालनको जिम्मेवारी दिइएको र त्यो नियमसंगत नभएको उजुरीमा जिकिर गरिएको छ । गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रुपमा संकाय अनुसार डीन रहने व्यवस्था गरेको छ ।

उक्त ऐनको दफा २९ (१) मा भनिएको छ, ‘संकाय प्रमुखको रुपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहनेछ ।’ ऐन अनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् ।

गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद–को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिनेछ भनि उल्लेख छ । सोही नियमावली को नियम ४६ को उपनियम (१) मा लेखिएको छ, ‘सम्बन्धित संकायका प्राध्यापक वा सह–प्राध्यापकमध्येबाट डिनको नियुक्ति गरिनेछ ।’ सो अनुसार भने भएको देखिदैन ।

उता विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. किसन कोइरालाको नियुक्ति पनि नियम विपरीत भएको पाइएको छ । विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समिति सदस्य गेहेन्द्रेश्वर कोइरालाका छोरासमेत रहेका किसनलाई जनशक्ति व्यवस्थापन समितिले विद्यालयमा हुँदै नभएको विषय ‘वातावरण विज्ञान’ को शिक्षक माग गरी २०७९ पुस २७ मा नियुक्त गरेको थियो ।

गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०७७ को परिच्छेद ११, नियम २८ अनुसार गठन भएको समितिसँग परीक्षाको सञ्चालन, व्यवस्थापन र अभिलेख व्यवस्थापन गर्ने अधिकार छ । समितिको अध्यक्षमा विश्वविद्यालयमा कुलपति हुन्छन् भने सदस्यमा रजिष्टार, संकायका डीनहरु हुने व्यवस्था छ । समितिको सदस्य सचिवमा परीक्षा शाखा प्रमुख हुने कानूनी व्यवस्था छ । त्यसबाहेकको पद उक्त नियमावलीले व्यवस्था नगरेको उनीहरुले अख्तियारमा बुझाएको उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख आस्मान तामाङले गण्डकी विश्वविद्यालयविरुद्ध उजुरी परेको र अनुन्धान भइराखेको जानकारी दिए । उनले डीन, रजिष्ट्रार र परीक्षा नियन्त्रकविरुद्ध उजुरी परेको पुष्टि गरे ।

अख्तियारसँगै बोधार्थको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गण्डकी विश्वविद्यालयमा समेत उजुरी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->