
काठमाडौं / नवीकरणीय ऊर्जा परिसंघ नेपालले पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा निजी क्षेत्रका उर्जाकर्मीहरुको मुटु जाँच तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रम सञ्चालन गर्यो । परिसंघले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा ‘आर.ई. सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’ शनिवार समपन्न गरेको हो ।
सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र उनकोे टिमबाट सहभागीहरूको मुटु जाँँच गरिएको परिसंघका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । सो कार्यक्रममा डा. ओम मूर्ति अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै डा. अनिलले त्यसतर्फ सचेतना अपनाउन सहभागीलाई सुझाव दिए ।
युवा अवस्थामा बढ्दै गएको मुटुरोगको जोखिमलाई न्यूनीकरण गर्नका निम्ति नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिदै उनले उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउँदा दुर्घटना निम्तिन सक्ने खतरा रहेको बताए।
स्वच्छ ऊर्जाको प्रयोग नगर्दा पर्न सक्ने स्वास्थ्य जोखिमका विषयमा जानकारी दिँदै डा.अनिलले स्वास्थ्यप्रतिको सचेतना बढेमा मात्रै जोखिम न्यूनीकरण हुने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूले पनि आफ्नो क्षेत्रमा सचेतना फैलाउन सुझाव दिए । आफूले जानेको, बुझेका स्वास्थ्य सचेतनासम्बन्धी बिषयमा ग्रामीण वस्तीहरूमा जाँदा अरुलाई पनि बाढ्न ऊर्जा व्यवसायीहरूसंग आग्रह गरे।

कार्यक्रममा सहभागी उर्जा क्षेत्रमा काम गर्ने नीजि क्षेत्रका ब्यवसायीहरु । तस्वीरः ढोरपाटन
कार्यक्रममा परिसंघका अध्यक्ष ढकालले स्वास्थ्य नै धन भएको हुँदा व्यवसायीहरूले आफ्नो पेसा व्यवसायसँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने आवश्यकता भएकाले स्वास्थ्य शिविर आयोजना गरिएको बताए । मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिए ।
नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक संगठनहरू नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, ग्रामीण प्रविधि उत्पादक संघ नेपाल, नेपाल सौर्य ताप ऊर्जा संघ, जैविक ऊर्जा व्यवसायी संघ नेपाल र बायोग्यास सेक्टर पार्टनसिप नेपाल लगायतको समन्वयमा सो कार्यक्रम आयोजना गरिएको र सोही क्षेत्रका ब्यवसायीहरुको मुटु जाँच गरिएको सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए ।
उक्त अवसरमा परिसंघले सामाजिक सचेतनाका निम्ति सामाजिक सञ्जालमार्फत् शुरू गर्नुभएको अभियानले विश्व रेकर्ड कायम गरेको सम्मान स्वरुप डा. अनिललाई कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रममा नविकरणीय उर्जा क्षेत्रमा काम गर्ने निजी क्षेत्रका ब्यवसायीहरुको सहभागीता रहेको थियो ।





