बागलुङ/ रगतमा अर्बुद रोग (व्लड क्यान्सर) पीडित तारा थापालाई चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उपचार खर्च सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ब्लड क्यान्सर पीडित तारा थापाको उपचारको लागी एक लाख सोह्र हजार आठ सय पैसठ्ठी नगद सहयोग शुक्रबार हस्तान्तरण गरेको हो ।
चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलको कक्षा ८ मा अध्यननरत संगीता थापा तथा कक्षा ५ मा अध्यननरत सचिन थापा कि आमा तारा थापा ब्लड क्यान्सरबाट पीडित भएकोले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीबाट सहयोग संकलन गरिएको थियो । संकलित रकम विद्यालयको तर्फबाट प्रधानध्यापक नवराज श्रेष्ठ, लेखापाल शिवलाल शर्मा, शिक्षिका आरती थापा, चिल्ड्रेन लाइफ युवा रेड्क्रस सर्कलका शिक्षक नायक तार्जन कायत मगर र अध्यक्ष मन्जिला बि.कको उपस्तिथिमा पीडितको तर्फबाट पीडितका छिमेकी तथा समाजसेवी नर बहादुर थापा र तुलबिर श्रीसलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको हो ।
ब्लड क्यान्सरबाट पिडित तारा थापाको हाल छाउनी स्थित नेपाली सेनाको अस्पतालमा उपचार भैरहेको छ । विद्यालयको जुरेस चिल्ड्रेन लाइफद्वारा विगतमा पनि विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।
विपन्न वर्गका ७ विद्यालयका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने, रकमको अभावमा उपचार सेवा बाट बञ्चित विरामीलाई सहयोग रकम उपलब्ध गराउने, विपन्नलाई खाद्य सामाग्री सहयोग उपलब्ध गराउने जस्ता कार्यहरुमा निरन्तर जोड दिईरहेको जुनियर रेडक्रस सर्कल सभापति मञ्जिला वि.कले जानकारी दिइन् ।





