पोखरा / पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो ।
महोत्सवमा बोल्दै पोखराका मेयर धनराज आचार्यले मेला महोत्सवले व्यवसायीकरण र बजारीकरणका लागि योगदान पुर्याउने धारणा राखे ।
‘मेला महोत्सवमा उत्पादित बस्तुहरुको व्यवसायीकरण र बजारीकरण गर्ने थलो छ, विभिन्न उत्पादक वस्तुहरुको प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका प्रदान गर्दछ, मेयर आचार्यले भने, ‘पोखरा–१४ ले आयोजना गरेको स्थानीय महोत्सवले वडा भित्र उत्पादन हुने कृषि तथा उत्पादनशील वस्तुहरुको बजारीकरणका लागि सहयोग पुग्नेछ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वडामा आउने सडक रातको समयमा अन्धकार बन्ने गरेको गुनासो आएकाले त्यसलाई चाँडै नै बत्ती जोड्न समन्वय भइरहेको बताए ।
पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।
‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीले वडादेखि विभिन्न क्लब संघसंस्थाले आयोजना गर्ने मेला महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
पूर्व वडाध्यक्ष सम्मानित
पोखरा महानगरपालिका–१४ ले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा पूर्व वडाध्यक्ष र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
महोत्सवको अवसरमा तत्कालिन पोखरा नगरहुँदाका १४ र १८ वडाका पूर्ववडाध्यक्षलाई सम्मान गरिएको हो ।
वडा कार्यालयले महोत्सवको अवसरमा पूर्व वडाध्यक्ष स्वर्गीय तोरणबहादुर केसी, कोमल बहादुर गुरुङ, स्वर्गीय दुर्गाबहादुर कार्की, स्वर्गीय प्रेमबहादुर परियार, जगत बहादुर कार्की, क्षेत्रबहादुर केसी, प्रेमबहादुर कार्की र वडाका कर्मचारीहरुलाई सम्मान गरेको हो ।





