बागलुङ / गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्ष्यसहित आइतबारदेखि श्रीमद्भागवत शैक्षिक ज्ञानमहायज्ञ सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार महायज्ञको उद्घाटन गरे ।
उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले वैदेशिक पलायन रोक्न स्वरोजगारमूलक शिक्षा आवश्यक भएको बताएका छन् । पाण्डेले स्वदेशमै रोजगारी गरेर मनग्ये कमाउन सक्ने शिक्षाको विकास आजको आवश्यकता भएको बताए ।
पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ति बनाउने शिक्षा आजको आवश्यकता भएको औंल्याए । अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने समेत उनले बताए ।
पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ तर युवा पलायन रोक्ने काम समाजको हो,’ पाण्डेले भने, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’ गलकोट बहुमुखी क्याम्पसले क्युएएको बाटोमा गएर आवश्यक संकाय थप गर्ने लक्ष्यले महायज्ञ गरेको हो ।
मुख्यमन्त्री पाण्डेले हिजोको जस्तो संस्कार हराएकोमा चिन्ता व्यक्त गरे । उनले धार्मिक सहिष्णुता खल्बल्याएर आम नागरिकलाई बितृष्णा फैलाउन खोज्नेहरुबाट समाज जोगाउनुपर्ने बताए । ‘धार्मिक सहिष्णुता कायम गी विकास गरौं,’ उनले भने, ‘सामाजिक सद्भाव खलबलिंदा हामी परनिर्भर बन्दैछौं ।’ मिलेर काम गर्ने, उत्पादन बढाउने र समाज धनी बनाउने काममा सद्भाव बलियो खम्बा हुने उनले बताए ।
पाण्डेले बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने निर्णय भएको बताए । उनले गलकोट नगर अस्पतालको पनि स्तरोन्नति गरेर उपचारका लागि सहर पस्न नपर्ने बनाउने आश्वासन दिए । ‘शिक्षाका लागि कलेज यहीँ छ, उपचारका लागि पनि सहर जानुपर्दैन,’ उनले भने, ‘प्रदेश सरकारले अस्पताल बनाउने र स्तरीय सेवा दिने काममा साथ दिन्छ ।’
२०६१ सालमा महायज्ञ गरेर खोलिएको यो क्याम्पस संचालनका लागि स्थानीयले १ करोड ९५ लाख सहयोग गरेका थिए । अहिले क्याम्पसले २० करोड संकलन गर्ने लक्ष राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए ।
महायज्ञको कथा वाचनका लागि कमलनयन गौतम आएका छन् । ८ दिनसम्म चल्ने महायज्ञमा क्याम्पसका पूर्वविद्यार्थी, विदेशमा बसेका गलकोट क्षेत्रमा नागरिकलगायत जोडिने क्रम सुरु भैसकेको छ । महायज्ञमार्फत क्याम्पसमा शैक्षिक सुधारको अभियानमा साथ दिने नगर प्रमुख भरत शर्मा गैरेले पनि प्रतिवद्धता जनाएका छन् ।
क्याम्पस व्वस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, वीरबहादुर बोहराको संचालन तथा नगर प्रमुख भरत शर्मा गैरेको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलको तर्फबाट कांग्रेस सभापति जीत शेरचन र प्रमुखवाचक कमल गौतम तथा गलकोट समाज पोखराका सचिव बबिन गौतमले मन्तव्य राखेका थिए ।





