बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पञ्चकोटको महायज्ञमा ‘राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन’ सम्मेलन

पञ्चकोटको महायज्ञमा ‘राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन’ सम्मेलन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८०, शनिबार

बागलुङ / ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्, हाम्रो शिक्षाले देशको भूमि हिमाल, पहाड र तराइ जोडेन,’ शिक्षाविद डाक्टर राजेन्द्र केसी भन्छन्,‘शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नु पर्छ ।

समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका अनि विदेशमै मृत्यु भएका समाचार छुट्दैनन् । युवाहरु विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै ती समाचारका कारणहरु भएको उनको ठहर छ ।

बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन ‘राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन’ सम्मेलन आयोजना भयो । सम्मेलनमा केसीलगायतका शिक्षा क्षेत्रका जानकारहरुको उपस्थिति थियो ।

सम्मेलनमा आएका धेरैले शिक्षा प्रणालीको कारण युवाहरु विदेशीएको भन्दै चिन्ता व्यक्त गरे । ‘नेपालीहरुले १ सय ७१ वटा देशमा काम गरिरहेका छन् तर आफै देश बनाउन काम गरेनन्,’ केसीले भने,‘अहिले दैनिक युवाहरु विदेशिरहेका रहेका छन् । १८ वटा विश्वविद्यालय खाली छन् ।’

शिक्षालाई सीप र सीपलाई स्वरोजगारीसँग जोड्नुपर्ने तर्क गर्छन्, पोखरा विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर प्रेमनारायण अर्याल । ‘हामीले विद्या दिएनौं । शिक्षा दिन थाल्यौं । विद्या दिएको भए नम्र र चरित्रवान हुने थिए,’ उनले भने,‘शिक्षालाई सीपसँग जोडनुप¥यो । विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा हुनुपर्छ ।’

अर्यालले राजनीति भनेको राम्रो नीति बनाउने भ एपनि झगडा गराउने नीति जस्तो बनाइएको बताए । ‘राजनीति भनेको राम्रो नीति हो, उच्चतम नीति हो । यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ,’ उनले भने । विश्वविद्यालयहरु राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भएकोमा उनले चिन्ता व्यक्त गरे । तोडफोड र अनुशासन उलङ्घन गर्नेहरुनै नीति बनाउने ठाउँमा पुग्ने गरेको पनि उनको जिकिर थियो ।

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रध्यापक डाक्टर रामप्रसाद उपाध्याय मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीहरुलाई नेपालमा रोक्न नसकिएकोमा चिन्ता व्यक्त गर्छन् ।समय र सन्दर्भ अनुसार पाठ्यक्रम अनुसार परिवर्तन गरेर जनशक्तिलाई यही प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

सम्मेलनमा प्रध्यापक डाक्टर विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने गरेको कारण शिक्षामा समस्या आएको बताए । उनले विशवविद्यालयका प्रमुखहरुमा अन्तरदलीय चिन्तन बनाउन नसक्दा समस्या भइरहेको बताए । ‘अन्तरदलीय सरकार हुन्छ,’ उनले भने,‘अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन । समस्या त्यही हो ।’

प्रा.डा. कोइरालाले अहिलेको बालबालिकाको तागत प्रविधि भएकोले त्यसमा ध्यान दिनुपर्ने बताए । ‘अहिलेको बालबालिकाको तागत भनेको प्रविधि हो । प्रविधिसँग अभ्यस्त भएकोलाई केटाकेटीहरुलाई अलिकति किताबसँग, अलिकति किताव र अलिकति जिन्दगीसँग, अलिकति आफ्नै अनुभुतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन् । अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगतमा मज्जाले काम गर्छ,’ उनले भने,‘अहिले ज्ञान बोकेर हिँड्ने दिन गए । अहिले ज्ञान कम्प्युटरमा हुन्छ त्यसलाई प्रयोग गर्न सके पुग्छ । शिक्षकहरु र शिक्षामा लाग्नेहरुले त्यसलाई प्रयोग गर्न सिकाइदिनु आवश्यक छ ।’

संस्कारसहितको शिक्षा अभियन्ता अन्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताइन । उनले नयाँ भिजन र मिसनसहित संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताइन ।

मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ संचालन भइरहेको छ । फागुन २३ गतेसम्म संचालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->