बागलुङ/जिल्लामा बार्षिक झण्डै एक करोड ५५ लाख ९९ हजार २ सय लिटर दुध उत्पादन हुने गरेको छ । जुन उत्पादन जिल्लाको जनसंख्याका लागि पुग्दो हो ।
१ लाख ६८ हजार ७१३ जनसंख्या रहेको जिल्लामा वार्षिक १ कारोड ५३ लाख ५२ हजार ८८३ लिटर दुध भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १.४६ लिटर दुध बढी उत्पादन भैरहेको जिल्लाले दुग्धजन्य उत्पादनबाट आयआर्जन गर्न सक्छ ।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा मंगलबार भएको आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलनमा सहभागि बिज्ञहरुले श्वेत क्रान्ति अर्थात् दुध र दुग्धजन्य उत्पादनबाट लिन सकिने लाभको बिषयमा चर्चा गरे । अत्मनिर्भर हुनेगरी कृषिकर्म गर्दा हरित र श्वेत क्रान्तिको आवश्यकता रहेको उनीहरुको भनाई थियो ।
गण्डकी प्रदेश कृषि मन्त्रालयका कृषि विज्ञ, बागलुङ, पर्वत र म्याग्दीका कृषि ज्ञान केन्द्र र भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञ र स्थानीय कृषक सम्मेलनमा सहभागि थिए । गण्डकी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रदेश सचिव डा. टंकप्रसाद प्रसाईले कृषिमा दुई वटा क्रान्तिको आवश्यक रहेको सुनाए ।
उनले कृषिको विकास गर्न हरित क्रान्ति र श्वेत क्रान्तिको आवश्यकता रहेको बताए । प्रसाईले हरित क्रान्तिमार्फत कृषि क्षेत्रमा करेसाबारीमा ताजा तरकारी उत्पादन, व्यवसायिक तरकारी खेतीसंगै खाद्यान्न उत्पादन र फलफुल खेती गर्नुपर्ने बताउँदै श्वेत क्रान्तिमार्फत दुग्धजन्य पदार्थ उत्पादनको लागि पशुपालन गरिनुपर्ने बताए ।
‘मनाङ, मुस्ताङ र कास्कीमा उत्पादन न्यून छ । ती जिल्लामा विशेष कार्यक्रम लागु गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘गोरखा, लमजुङ, तनहुँ, पर्वत, स्याङजा र बागलुङमा आवश्यक खाद्यान्न आवश्यकस्तरमा उत्पादन हुन्छ । तर, गण्डकी प्रदेश पर्यटकीय र धार्मिक पर्यटकीय प्रदेश हो, यतिले पुग्दैन । बाहिरबाट आउने पर्यटकलाई पर्याप्त मात्रामा स्थानीय स्तरमा उत्पादित खाद्यान्न खुवाउनको लागि उत्पादन बढाउनुपर्ने देखिन्छ ।’
गण्डकी प्रदेशमा स्थानीय जातका अन्नबाली बढाउनुपर्ने देखिएको छ । ‘खाद्यान्न बाली, तरकारी, फलफुल खेती गर्दै उत्पादनमा जोडदिनुपर्ने अवस्था देखिएको छ । दुध उत्पादनमा पनि गण्डकी प्रदेशले विशेष जोडदिनुपर्छ । उत्पादन बढाउन सामूहिक खेती विस्तार गर्नुपर्ने र भुमिको विकास गर्दै व्यवसायीक खेती अपरिहार्य छ’ प्रसाईले भने ।

गण्डकी प्रदेश सरकारले दुग्ध, फलफुल, तरकारी र पशुपंक्षीपालन व्यवसायसंगै नमुना कृषि गाउँ, कृषि पर्यटन केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको छ । स्थानीय जातको अन्नबालीलाई व्यवसायीक गराएर आत्मनिर्भर बनाउनेतर्फ प्रदेश लागेको छ ।
आत्मनिर्भर बनाउन कृषि उत्पादन मात्र भएर नहुने बताउँदै प्रशोधन उद्योगहरुको स्थापना गरिनुपर्नेमा सचिव प्रसाईले जोड दिए । ‘उत्पादन भएर मात्र हुँदैन, प्रशोधन उद्योग पनि आवश्यक पर्छ,’ उनले भने, ‘त्यसको लागि कोलस्टोर निर्माण, दुग्ध चिस्यान, संकलन केन्द्र, पशु र कृषि विमा कार्यक्रमलाई जोड दिनु आवश्यक छ ।’
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जमिनलाई बाँझो नराख्न सुझाव दिए । जे गर्दा पनि जमिनबाट उत्पादन हुने बताउँदै शर्माले बाँझो जमिनलाई कृषि भुमिको रुपमा प्रयोग गरेर उत्पादन बढाउनुपर्ने सुझाए । शर्माले सुविधाको खोजीमा युवालाई विदेशिनुभन्दा संस्कार सुधारेर देश विकासमा जुट्न आग्रह गरे ।
स्वामी मुक्तिनाथ बाबा कमलानयन आचार्यले माटोको पहिचान गरेर उत्पादन गरेमा नेपाली जनता खाद्यान्नको लागि परनिर्भरता बन्न नपर्ने बताए । ‘भारतबाट सागसब्जी नआउने हो भने हाम्रो उपाय लाग्दैन,’ उनले भने, ‘परनिर्भरतामा हामी परआश्रित भएर बाँच्नुपरेको छ । माटोको पहिचान गरेर उत्पादन गर्ने हो भने परनिर्भर बन्नुपर्दैन ।’





