प्रतिकात्मक तस्बिर
बागलुङ/मुक्तिनाथ दर्शन प्रालिले अनुमति पाएको ६ बर्षमा ईआईए प्रतिवेदन बनाएको छ । दुइबर्ष अघि गौरवको आयोजनाकै सरह ईआइए प्रतिवेदनको अनुमति पाएपछि संसारकै लामो केबलकार बनाउने काम अगाडि बढेको प्रलिका अध्यक्ष अरुणकुमार सुवेदीले बताए ।
कम वातावरणीय क्षति हुने स्थानमा पूर्वाधार निर्माण भन्दै दुइबर्ष अघि २०७८ असोज १४ गतेको मन्त्रीपरिषद बैठकले मुक्तिनाथ दर्शन प्रालिलाई संरक्षित क्षेत्रमा ईआइए प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । यसअघि संरक्षित क्षेत्रमा ईआईए बनाउन पाइने थिएन । यो केबलकार अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्छ ।
निर्माणको स्विकृति भने ६ बर्ष अघिनै भएको थियो । ‘ईआइए बनाउने अनुमतिका लागि ५ बर्ष अल्मलियौं, अनुमतिपछि प्रतिवेदन बनाउनै २ बर्ष लाग्यो’ सुवेदीले भने, ‘प्रतिवेदन स्विकृति पाएमा ४ बर्षमा केबलकार बनाउँछौं ।’ यो केबलकार पर्वत र कास्कीको नयाँपुलदेखि मुक्तिनाथ सम्मको हुनेछ । ८३ किमी लामो यो केबलकार संसारकै लामो हुने सुवेदीले दाबी गरे । नेपालको प्रशासनिक झन्झट र लामो प्रक्रियाले समयमा लगानी जुटाउन र काम थाल्न ढीला भएको उनले बताए ।
ईआइए प्रतिवेदनका लागि चारवटा जिल्लाका प्रभावित क्षेत्र, समुदाय, पालिका, सामुदायिक वन, सरकारी वन र संरक्षित अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेर दर्जनौं नागरिक सुनुवाई र सहमति बनाउन समय लागेको उनले बताए । केवलकार बनाउने लाइनमा संरक्षित क्षेत्र, सामुदायिक र सरकारी वनसमेत परेकोले वन मन्त्रालय, वातावरण मन्त्रालय तथा सामुदायिक वन र स्थानीयको समेत अनुमति लिनुपर्ने बाध्यता थियो । २०७८ असोज १४ गतेको मन्त्रीपरिषद बैठकले केवुलकार निर्माणका लागि इआइए गर्न वन तथा वातावरण मन्त्रालयलाई अनुमति दिएपनि ईआइए तयार पार्न समेत दुइ बर्ष लागेको हो ।
उक्त प्रतिवेदन पुनः वन तथा वातावरण मन्त्रालयले स्विकृति दिएपछि मन्त्रीपरिषदको निर्णयले मात्र निर्माणको काम शुरु हुनेछ । मन्त्रालयले प्रतिवेदन स्विकृति दिएमा ४ बर्षमा केबुलकार बनाउने उनले बताए । त्यसका लागि मुक्तीनाथ दर्शन प्रालिले ५५ अर्ब लगानी जुटाउनुपर्ने छ । ‘वनक्षेत्र भएकोले ईआइए बनाउने स्विकृति पाउनै ढीला भयो’ उनले भने, ‘ठूलो लगानी भएपनि राष्ट्रिय गौरवको आयोजनाजस्तो सहज वातावरण राज्यले बनाउन मानेन् ।’ ५५ अर्ब लाग्ने उक्त योजनाभन्दा आधा कम लगानीमा बन्ने कतिपय योजनालाई सरकारले गौरबको आयोजनामा राखेर वन क्षेत्रको फाष्टट्रयाकमा स्विकृति लिने गरेको उनले टिप्पणी गरे ।
कम्पनीले केवलकार निर्माण गर्दा न्युनतम वातावरणीय क्षति हुने भएकोले मन्त्रीपरिषदले स्विकृति दिएको थियो । सोही अनुसार बनाइएको ईआइए प्रतिवेदन पुनः वन तथा वातावरण मन्त्रालय र मन्त्रीपरिषदले पास गर्नुपर्ने प्रावधान छ । ‘व्यक्तिको जग्गा कम्पनीले किनेर त्यही स्थानमा टावर बनाउने प्रयास भैरहेको छ’ सुवेदीले भने, ‘वातावरणमा कुनै असर नपर्ने गरी हामीले काम गर्छौ ।’
कास्की र पर्वतको सिमाना रहेको नयाँपुलदेखि म्याग्दीको घोरेपानीहुँदै मुस्ताङ पुग्ने यो केवलकार ८३.६५ किमी लामो हुनेछ । यो केबलकारमा ६ वटा स्टेशन हुने सुवेदीले बताए । पहिलो स्टेशन पर्वतको भुकदेउरालीमा हुनेछ । त्यसपछि म्याग्दीको घोडेपानी, रुप्से, मुस्ताङको टुकुचे, रानीपौवा र कागबेनीमा रहेका स्टेशनबाट यात्रु चढ्ने ओर्लने गर्न पाउने डिजाइनको डिपिआर बनाएको छ ।
यो परियोजनाको भुक्तानी युरोको वर्तमान मूल्यको आधारमा हुनेछ । त्यस अनुसार हालको ५५ अर्ब लगानी आबस्यक पर्ने भएको हो । त्यसका लािग ८० प्रतिशत कर्जा, २० प्रतिशत स्वपूँजिको व्यवस्थापन हुनेछ । स्वपूँजिअन्र्तगत ९ प्रतिशत आईपिओमार्फत पुरा गर्ने कम्पनीले लक्ष राखेको छ । २ प्रतिशत स्थानीयको सहित ११ प्रतिशत प्रवद्र्धकको लगानी हुनेछ । यो केबलकार निर्माण भएमा संसारकै लामो हुने र गिनिजबुकमा नाम समेत लेखिनेछ ।
गौरवको आयोजना भनेर सूचिकृत नभएपनि सरकारले सोही अनुसारको ईआइए बनाउने अनुमति दिएको लगानी बोर्डका कन्सल्ट्यान्ट अक्षित पौडेलले बताए । ‘पहिला जे जस्तो भएपनि सरकारले यो परियोजनाका लागि फाष्टट्रयाककै सुविधा दिएको छ’ उनले भने, ‘अब वन तथा वातावरण मन्त्रालयले प्रतिवेदन स्विकृति दिएपछि काम गर्न बाटो खुल्नेछ ।’ लगानी बोर्डले २०७५ सालमा मुक्तिनाथ दर्शनलाई केबलकार बनाउन स्किृति दिएको थियो ।





