बागलुङ/अर्थमन्त्री प्रकाशशरण महतले जनताले तिरेको कर छल्ने र खाने अधिकार कसैलाई नभएको बताएका छन् । उनले भ्याट छली भएको अबस्थामा सरकारले कडा कारवाही गर्ने बताएका छन् ।
उपभोक्ता र जनताले सामान उपभोग गरेबापत तिरेको भ्याट छलेर कसैले हिनामिना गरेको देखिए आर्थिक अपराधमा कारवाही गर्ने उनको भनाइ थियो । भ्याट छल्ने अबस्था आउनै नदिने गरी काम गर्न सरकार लागेको पनि बताए ।
शुक्रबार अर्थमन्त्री महत बागलुङको पञ्चकोटमा आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाको योगदान सम्बन्धी सम्मेलनमा भाग लिन आएका महतले त्यसअघि आन्तरिक राजश्व कार्यालय बागलुङको अनुगमन गरेका थिए । पछिल्लो समय देशभरनै लक्षभन्दा कम राजश्व संकलन भैरहेको भन्दै त्यसको कारण खोज्दै गरेको बताए ।
उपभोक्ताले तिरेको कर र भ्याटलाई जो कसैले जानाजान छलेका घटनाले लक्ष पुग्न कठिन भएको उनको भनाइ थियो । ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन’ उनले भने, ‘त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारवाही हुन्छ ।’ उनले लक्ष अनुसार राजश्व संकलनमा भ्याट छली गर्ने प्रवृत्ति हावी हुन नदिने समेत बताए ।
उनले लक्ष्यबढी कर संकलन गरेर राज्यको आयश्रोत बढाउने र विकासका योजनामा लगानी गर्ने बताए । उनले पर्यटन प्रवद्र्धन, कृषि उपज उत्पादनजस्ता क्षेत्रमा लगानी गरेर दिगो श्रोतको सुनिश्चित गरिने बताए । ‘यस अघिको सरकारले सिर्जना गरेका दायित्व तिर्दा सरकारको बजेट अभाव भएको छ, त्यसैले धेरै योजना कटौती भएका छन्’ उनले भने, ‘हामीले योजना काटेका होइनौं, महत्वकांक्षी योजना घोषणा गरिएकोले समस्या आएको हो ।’ बैंकको व्याजदर घटेकोले ऋण प्रवाह, व्याज आम्दानी तथा उत्पादन बढ्ने उनले बताए ।
बर्तमान सरकारले ४ प्रतिशतभन्दा बढी बजेट भएका योजना स्विकृति नगर्ने, ठेक्का नलगाउने नीति बनाएको उनले प्रष्ट्याए ।
बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले कुल लक्षको ७६ प्रतिशत कर संकलन गरेको कर अधिकृत प्रमोदकुमार श्रीबास्तवले बताए । चालु बर्षको माघ मसान्तसम्म आयकर २४ करोड ५० लाख, घरबहालकर २६ लाख, व्याजकर ६ करोड ९१ लाख, भ्याट १० करोड ६५ लाख, आन्तरिक कर २ करोड ९० लाख गरी कुल ४७ करोड ७२ लाख संकलन भएको हो ।
यसैबीच, उनले कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट समेत गरे । उक्त अबसरमा गठबन्धन परिस्थितिको उपज भएको बताए । उनले गठबन्धन सरकारबाट कांग्रेस बाहिरिने संभावना नभएको बताए । ‘भोली हामी सक्षम भएमा एकल चुनावमा जाने र एकल सरकार चलाउने अबस्था होला, अहिले छैन’ उनले भने, ‘कांग्रेसले गठबन्धन छाडेपनि एमाले माओवादीका गठबन्धन हुने अबस्था रहीरहन्छ ।’
कार्यक्रममा पार्टी सचिव गण्डकी थापाको अध्यक्षता, अर्का सचिव हरिहर शर्माको संचालन र पार्टीका नेता जगदिशचन्द्र उपाध्यायको स्वागत तथा पार्टी संगठनबारे जानकारी दिएका थिए ।
त्यसअघि महतलाई बागलुङ नगर प्रमुख बसन्तकुमार श्रेष्ठसहित नगरपालिकाका जनप्रतनिधिले स्वागत गरेका थिए । उक्त अबसरमा उपप्रमुख राजु खड्काले बित्तिय क्षेत्रको सुधार तथा स्थानीय तहको आवस्यकताबारे प्रस्तुतीकरण गरेका थिए । उनले समानिकरण र साझेदारीको बजेट सिधै अनुदानको रुपमा नदिए स्थानीय सरकारले काम गर्न नसक्ने बताएका थिए ।





