
बागलुङ/प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका खुलाउन सरकार सकारात्मक रहेको बताएका छन् । उनले आगामी नीति र बजेटमार्फत कोरला नाका खुलाएर संचालन गर्ने कार्यक्रम ल्याउने बताए । उनले देशकै बिकासको लागि कोरला नाकाको महत्व रहेको बताए ।
बागलुङको पञ्चकोटमा फागुन ९ देशि शुरुभएको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ ११ औं दिन हेलिकोप्टरमा आएका प्रधानमन्त्रीले कोरला नाकाले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समेत बताए । उनले पर्यटन र आयात निर्यात जस्ता क्रियाकलापका लागि पनि कोरला नाकाको महत्व रहेको बताएका छन् । त्यसका लागि आवस्यक पूर्वाधारको काममा पनि सरकारको ध्यान जाने बताए ।
नेपाललाई पर्यटन क्षेत्रको बिकासबाट देश समृद्द बनाउन सकिने भन्दै प्रधानमन्त्रीले हाल धौलागिरि क्षेत्रमा बनेका क्षेत्रहरु आर्थिक बिकासको लागि महत्वपूर्ण भएको बताए । ‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ’ दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ ।’ यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुने उनको तर्क थियो ।
प्रधानमन्त्रीले धार्मिक पर्यटनले नेपालको अर्थतन्त्रमा सुधार भएको समेत बताए । बागलुङको कुडुलेमा निर्माण भएको शालग्राम संग्राहलय, मुक्तिनाथ क्षेत्रको धार्मिक महत्व र पञ्चकोट पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार भएको बताए । उनले स्वामी कमलनयनाचार्यले गरेका पहलबाट संचालित धार्मिक क्षेत्रले देशको बिकासमा योगदान पुगेको पनि बताए । नवलपुरको गजेन्द्रमोक्ष धाम तथा भक्तपुरको श्रीवन र पञ्चमहालक्ष्मी मन्दिरले पनि हजारौं पर्यटक भित्राएको बताए ।
प्रधानमन्त्री शनिबार अलिबढी धार्मिक समेत बनेका थिए । ‘पौराणीक समाजवादमा धार्मिक अर्थतन्त्रको महत्व रहेछ’ उनले भने, ‘आफ्नो लागि मात्रै कमाउने बा“की सम्पत्ति राज्यको हुने अबस्था भएमा देशमा आर्थिक संकट पर्दैन ।’ उनले आध्यामिक चिन्तले मानिसमा समाजप्रतिको उत्तरदायित्व सम्झाउने गरेको समेत बताए ।
गौशालाको गाइ संरक्षणमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । उनले आर्युवेदिक औषधीको उत्पादन र उपयोगमा पनि गौशालाको महत्व भएको बताए । शनिवार ब्रम्हाण्डीय महायज्ञमा पुग्दा प्रधानमन्त्रीको अधिकांस मन्तव्य धार्मिक थियो । उनले समाजमा स्थायी शान्ति स्थापनाका लागि पनि आत्ध्यात्मिक चिन्तन चाहिने बताए ।
उनले धर्म, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । राज्यले पनि यस्ता क्रियाकलापमा उच्च सम्मान गर्ने भन्दै महायज्ञ आयोजक कमलनयनाचार्यको प्रसंसा गरे । उनले बागलुङमा स्थापना भएको शालग्राम संग्राहलय, निर्माण गरिन लागेको १ सय ८ फिट अग्लो गण्डकी कलस लगायतका संरचना निर्माणमा सरकारको पनि ध्यान गएको बताए । उनले ती संरचना र पर्यटकीय क्षेत्रको बिकासमा साथ दिने बताए । साथै उनले कालीगण्डकी नदी संरक्षणमा पनि जोड दिए । ‘जल संरक्षणबाट हाम्रो सभ्यता पनि बचाउन सकिन्छ’ प्रधानमन्त्री दाहालले भने, ‘जल संरक्षणको प्रतिक बनाउन लागिएको विश्वशान्ति गण्डकी कलसले नागरिकलाई थप सन्देश दिनेछ ।’
कार्यक्रममा आएका नेपाल उद्योग बाणिजय महासंघका अध्यक्ष चन्द्र ढकालले कोरला नाका, बागलुङ सहित धौलागिरिका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा राज्यको लगानी र ध्यान जानुपर्ने धारणा राखेका थिए । उनले कतिपय बिकास निर्माणमा राज्यको ध्यान नपुग्दा राष्ट्रिय महत्वका योजना पछि परेको बताए । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न मन्त्रीहरु पनि आइसकेका छन् । ती मन्त्रीहरुले पनि यो क्षेत्रको बिकासमा साथ दिने प्रतिवद्दता जनाइसकेका छन् ।





