बागलुङ, २० फागुन– कवाडी संकलनदेखि मोटर ग्यारेजमा काम गर्ने सयौं मजदुर भारतीय छन् । बागलुङ बजारदेखि बुर्तिवाङसम्म पुग्दा सानो बजार क्षेत्रमा पनि भारतीय श्रमिक नपुगेको स्थान छैन ।
उनीहरुले श्रम क्षेत्रमा एकाधिकार जस्तै बनाएका छन् । तर बागलुङका युवा भने रोजगारी नपाएको निहुँमा बिदेश गैरहेका छन् । जसका कारण नेपालीको आयस्तर घट्ने र नेपली श्रमबजारबाट भारतीयले पैसा लगिरहने क्रम चलेको छ ।
‘बागलुङमा मात्रै ५ हजार भारतीय श्रमिकले काम गरेको अनुमान छ’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘यी काममा नेपाली कामदार लगाउन सकियो भने करोडौं रकम स्वदेशमै रहनेछ ।’ उनले त्यसका लागि नेपाली कामदारको श्रम सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले गर्न सक्ने बताए ।
बागलुङ नगरपालिका–१ को राजभण्डारी अटो मोवाइल्समा कार्यरत १५ श्रमिक भारतीय रहेको संचालक पवन राजभण्डारीले बताए । सीप सिक्न र दिगो रुपमा काम गर्न नेपाली श्रमिक तयार नभएको उनले बताए । प्राविधिक काम गर्ने स्थानीय श्रमिक नभेट्दा भारतीयलाई स्थान दिन बाध्य भएको उनको भनाइ छ । ‘मैले दश बर्षदेखि नेपाली कामदार खोजेको छु, नपाएपछि भारतीय श्रमिक राखेको हुँ’ उनले भने ‘मेकानिकल इन्जिनियर भए खाना खाएर ५० हजारसम्म तलब खाने छन् ।’
रामरेखाको शिवशक्ती अटो मोवाइल्स होस् वा बजार क्षेत्रका जुनसुकै ग्यारेज, कवाडी संकलन केन्द्र, गाडीको पाटपुर्जा मर्मत र पन्चर टाल्नेदेखि निर्माण क्षेत्रका कामदार समेत भारतीय छन् । फर्निचर, ग्रील उद्योगमा काम गर्ने पनि भारतीय छन् । कोरोना संक्रमण अघि त बागलुङका अटो मोवाइल्सहरुमा २५ जनासम्म कामदारहरु थिए, आजकल काम घटेको संचालकहरु बताउँछन् ।
पछिल्लो समय विकास निर्माणमा एक्साभेटर, ट्रिपर, ट्रयाक्टरजस्ता साधनको उपयोग घट्दा कामदार घटेको अटो मोवाइल्स एसोसिएसनका अध्यक्ष शिवशंकर शाहले बताए । शाहका अनुसार बागलुङ बजारमा ७९ वटा अटो मोवाइल्स सेन्टर छन् । ती बाहेक गलकोट, बुर्तिवाङ, कुश्मीसेरालगायत मध्यपहाडी लोकमार्ग आसपासका साना बजारमा गरी १ सयबढी मोटरपार्टस् बनाउने तथा अटो मोवाइल्स पसल छन् । ती अधिकांस पसल भारतीय श्रमिक र प्राविधिकबाटै चलेको उनले बताए ।
शाहका अनुसार एउटा फर्ममा १० जना मात्रै कामदार राखेको भएपनि १ हजारबढी भारतीय श्रमिकले काम पाइरहेको उनले बताए । त्यसबाहेक दर्जनौं फर्निचर उद्योग, कवाडी संकलन, सडक आयोजनाको मदजुर समेत भारतीय छन् । तारजाली बुन्ने, कपडा बेच्ने र पुराना कपडाबाट सिरक डसना बनाउने, सडक कालोपत्रे गर्नु परेमा सडक बढार्ने काममा समेत ठेकेदारले भारतीय श्रमिक ल्याउने गर्छन् ।
नाइ संघमा आबद्ध ५० बढी पसल समेत भारतीय नागरिककै छन् । ‘काम राम्रो गर्ने, चौबिसै घण्टा खटाउन सकिने र सस्तो कामदार भएकोले भारतीय श्रमिक बढी छन्’ निर्माण व्यवसायी हरिलाल शाहले भने, ‘नेपाली कामदारले काममा मेहेनत गर्दैनन् ।’ प्राविधिक ज्ञान भएका कामदार समेत नपाइने उनले बताए ।
भारतीय श्रमिकको यकित तथ्यांक भने कसैले राखेको छैन । ५ हजार कामदार सदरमुकाममा भएको अनुमान गर्दै बागलुङ नगरपालिकाले सूचिकृत गर्ने तयारी गरेको छ । ती श्रमिकले काम नगरेमा प्राविधिक, निर्माण तथा कवाडी र नाई लगायतको क्षेत्र ठप्पै हुने अवस्था आएको नगर प्रमुख श्रेष्ठले बताए । ‘भारतीय श्रमिक नहुँदा पनि सबै काम गर्न सकिने गरी श्रमिक उत्पादन गर्ने योजना छ’ श्रेष्ठले भने, ‘त्यसका लागि पहिलो चरणमा कामदारको यकिन तथ्यांक उतार्दै छौं ।’ त्यसपछि नेपाली श्रमिकलाई प्राविधिक सीप सिकाउने योजना उनले सुनाए ।
प्रहरीका अनुसार अपराधका घटनामा समेत बाहिरका नागरिकको भूमिका देखिने गरेको छ । नगरपालिकाले थाल्ने योजनाले अपराध नियन्त्रणमा पनि सहज वातावरण बन्ने प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । यो तथ्यांकले सुरक्षामा समेत साथ मिल्ने उनको भनाइ छ । सुन सफाइ गर्ने निहुँमा आउनेले लुटेका घटना समेत अत्याधिक भएपछि नगरले यस्तो योजना ल्याएको श्रेष्ठले बताए ।
सबै श्रमिकको यकिन तथ्यांक राखेपछि नगरका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने योजना उनले सुनाए । नेपाल ट्रेड युनियन कांग्रेसले स्थानीय तहलाई सामाजिक सुरक्षाबारे जानकारी गराएर श्रमिकको सुरक्षामा ध्यान दिन ध्यानाकर्षण गरेपछि श्रेष्ठले अन्य पालिकाभन्दा सदरमुकाममा श्रमिकको वर्गिकरण आवस्यक भएको बताए । यसअघि ताराखोला गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको थालनी गरिसकेको छ । गत महिना ६७ जना कामदारलाई रोजगारी दिएर यो अभियान थालिसकेको हो ।





