बागलुङ/बागलुङ नगरपालिकालाई कृषिउपजमा आत्मनिर्भर बनाउने अभियानमा गैरसरकारी संस्थाको साझेदारी खोजिने भएको छ । उक्त योजना सफल बनाउन हेफर इन्टरनेशनलले बागलुङ नगरक्षेत्रमा काम गर्ने भएको छ ।
कृषि, पशुपालन तथा किसानको आर्थिक अबस्था मजबुत बनाउने गरी उक्त संस्थाले काम गर्न लागेको हो । हेफरले बागलुङ नगरपालिका र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा काम गर्न लागेको हो । सोमबार उक्त योजनाको मोडल र काम गर्ने तरिकाबारे जनप्रतिनिधिलाई अभिमूखीकरणमार्फत जानकारी गराइयो ।
हेफर इन्टरनेशनलका तर्फबाट प्रतिनिधिको रुपमा आएका अधिकृत खुलाराम चौधरीले परियोजनाको जानकारी गराएका थिए । पहिलो चरणमा नगरका ६ वटा वडामा यो कार्यक्रम लागू हुनेछ । कृषि उत्पादन र पशुपालनमा काम गर्ने भएकोले बजार क्षेत्रलाई बिक्री केन्द्र र ग्रामीण बस्तीका वडालाई कृषि क्षेत्र बनाएर काम गर्न लागेको चौधरीले बताए ।
पहिलो चरणमा वडा नं. ५ देखि १२ सम्मका वडामा यो परियोजना लागू हुनेछ । खसीबाख्रा पालन र दूध उत्पादनमा जोड दिंदा बजार क्षेत्र रहेका वडा नं. १, २, ३ र ४ लाई भने बिक्री क्षेत्रको रुपमा बिकास गर्ने लक्ष रहेको उनले बताए । वडा नं. १३ १४ मा भने हाल भैरहेका व्यवसाय प्रवद्र्धनमा काम गर्ने उनको भनाई छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले कृषिमा आत्मनिर्भर बनाउने लक्षमा यो कार्यक्रमले सहयोग पुग्ने बताए । ‘हामीले दूध, मासु, अण्डा र तरकारीमा आत्मनिर्भर नगर बनाउन चाहेका छौं’ उनले भने, ‘यो परियोजनाले पनि नगरको नीति र कार्यक्रममा साथ दिनुपर्छ ।’ गरिब जनताको जीवनस्तर उकास्ने सर्तमा कार्यक्रम लागू गरिने उनले बताए ।
कार्यक्रममा उपप्रमुख राजु खड्काले नीति र बजेटको सिलिङमा बसेर काम गर्नुपर्ने भएकोले लागू गर्नुपूर्व हेफर र गाजा डेभलपमेन्ट फाउण्डेसनसँग छलफल गरिने बताए । उनले नगरलाई आर्थिक व्ययभार नपर्ने गरी काम गर्ने बताए ।
हेफरले आवस्यक कर्मचारी र परियोजना तर्फको केही रकम व्यहोर्ने छ भने नगरपालिकाले पनि साझेदारीमा रकम लगानी गर्नेछ ।
उक्त अबसरमा फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेल, वडा अध्यक्षहरु रुद्रबहादुर केसी, कुमार बिक्रम क्षेत्री, छमबहादुर कार्की लगायतले बोलेका थिए । बाख्रा उपहार मात्रै दिने पुरानो मोडलबाट परिमार्जन गरेर हेफरले बजारीकरण तथा किसानको क्षमता बिकासमा पनि काम गर्न लागेको बताइएको हो ।





