शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गाउँका बजारमा म्याद गुज्रेका पेयपदार्थ भेटिए

गाउँका बजारमा म्याद गुज्रेका पेयपदार्थ भेटिए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८०, मंगलबार

बागलुङ/ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् ।
जिल्ला प्रशासन, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रबिधि तथा गुण नियन्त्रण र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो । अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैंयुपाटाका पसलमा अनुगमन गरेको थियो ।
व्यवसायीले म्याद गुज्रेका र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ‘उपभोक्ता र बिक्रेतामा सचेतनाको आवश्यकता देखियो’ बरालले भने ।
कोक, फेन्टा, स्प्राइट सबैभन्दा धेरै म्याद गुज्रेका भेटिएका थिए । अघिल्लो गर्मीयाममा राखेका पेयपदार्थको म्याद गुज्रेको व्यवसायीले ख्याल नगरेको पाइएको हो । ‘पटक–पटक आग्रह गर्दा पनि कम्पनी र डिलरहरु फिर्ता लिन आउँदैनन्, बेच्न आउँदा धेरै भिराउँछन्, बिक्री नभएपछि म्याद गुज्रिन्छ,’ नारायणस्थानका व्यवसायी महेन्द्र जिसीले भने ।
केही पसलहरुले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रंग मिसिएका खाद्य बस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । पहिलो पटक व्यवसायीलाई सचेत गराइएको र दोहोरिए कारवाही गर्ने चेतावनी दिएको श्रेष्ठले बताए । अनुगमनमा भेटिएका सामग्रीमध्ये पिठो, फुरन्दाना, दालमोट, बिस्कुट, चक्लेट, मह लगायतका खाद्य सामाग्री पनि जफत गरिएको थियो ।
बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि मंगलबार पैञ्युपाटा र नारायाणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायाणस्थानबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए । प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्कोपटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । बलेवाका बजारमा रंग मिसिएका जेरी, झिनिया, केक जफत गरेर नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->