शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बुर्तिवाङमा १४ वर्षपछि जिल्ला अस्पताल बन्दै

बुर्तिवाङमा १४ वर्षपछि जिल्ला अस्पताल बन्दै

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले स्वास्थ्य मन्त्रालयको टोलीले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको बताए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

बागलुङ/अञ्चल अस्पतालको रुपमा बिशेषज्ञ सेवासहित संचालनमा आएको १४ बर्षपछि जिल्ला अस्पताल बन्ने भएको छ । २०६६ सालमा तत्कालिन बागलुङ अस्पताल खारेज भएर धौलागिरि अस्पताल बनेपछि जिल्ला अस्पताल थिएन ।
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउने योजना १४ बर्षपछि पुरा भएको हो । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघिय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले बताइन् । ती दुवै स्थानमा अस्पतालको आवस्यकता थियो ।
तत्काल अत्यावस्यक सेवा सुविधा थप गरेर जाने र आगामी आर्थिक बर्षदेखि जिल्ला अस्पतलको रुपमा काम थालिने भएको हो । केही बर्षअघि भएको ओएनएमकै आधारमा जनशक्ती व्यवस्थापन गरेर काम थालिने छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले स्वास्थ्य मन्त्रालयको टोलीले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको बताए । ‘न्युनतम आबस्यक पर्ने चिकित्सक र उपकरण व्यवस्थापनका लागि उहाँहरुले अध्ययन गर्दै हुनुहुन्छ’ आचार्यले भने, ‘११ औं तहको मेडिकल सुपरिटेण्डेन्टसहित सेवा व्यवस्थापन आगामी साउनदेखि हुनेछ ।’ हाल भएका जनशक्तीमा केही थप गरेर सेवा बढाउने उनले बताए ।
हाल बुर्तिवाङमा डा. रबिन्द्र ढकालसहित ११ जनाको दरबन्दी मात्रै छ । प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीले झण्डै ५० शैयाको अस्पताल संचालनमा थियो । पूर्ण दरबन्दी भएमा ८ जना बिशेषज्ञ डाक्टरसहित १ सय ४४ जना स्वास्थ्यकर्मी र अन्य कर्मचारी हुने ढकालले बताए । अस्पतालको रुपमा बनेपछि २४ घण्टे सेवा, ९२ प्रकारका निशुल्क औषधीको सेवा यहाँ संचालन हुनेछ ।
ठूलो भूगोलमा अस्पताल नहुँदा स्थानीयले सास्ती खेपेका थिए । ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाबासीले उपचारमा धेरै टाढा जान बाध्य थिए । मध्यपहाडी लोकमार्ग समेत भएकोले रुकुमदेखि यात्रा गर्नेले पनि यहाँ स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । जटिल समस्या भएमा स्थानीयबासी पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । पोखरा पुग्दा निसी, तमान र ढोरपाटनका स्थानीयले २ सय किमी यात्रा गर्नुपर्छ ।
केन्द्रको तथ्यांक अनुसार यहाँ बर्षमा ५ सय जनासम्मले सुत्केरी सेवा लिएका छन् । मासिक २० वटासम्म जटिल समस्याका बिरामी बुटवल र पोखरासम्म पुग्थे । दैनिक १ सय ५० बिरामीको ओपिडीमा स्वास्थ्य परीक्षण गरिन्छ । ती मध्ये ३० जनाको ल्याब र २० जनाको भिडियो एक्सरे गराउनु पर्ने बाध्यता भएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव थापाले बताए ।
बर्षमा ६० देखि ७० जनाको पोष्र्टमार्टम समेत भएका छन् । नियमित ओपीडि, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि केन्द्रबाटै भएका थिए । यहाँ एक्सरे, भिडियो एक्सरे संचालन गर्न बिद्युत अभाव हुँदा जेनेरेटर समेत थिएन । जिल्ला अस्पताल भएपछि जेनेरेटर राख्न पाउने सुविधा हुनेछ । पटक पटक रगतको अभाव हुँदा उपचार गर्न नसकी बिरामी सहर पस्थे । जिल्ला अस्पताल बनेपछि सामान्य अपरेशन सेवाको पनि बैधानिकता हुने स्टाफ नर्स पार्वती अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->