पोखरा / फेवातालको चारकिल्ला होस् या फेवा नजिकका सिमसार क्षेत्र होस् त्यहाँ प्लटिङ र जग्गा पुर्ने जिम्मे व्यवसायी युवराज खतिवडाको हो । राज्यले सिमसार नीति कायम गरेको छ ।
जग्गा धनीहरुले आफैले पुर्न नसकेपछि युवराज खतिवडालाई त्यो पुर्ने जिम्मा दिन्छन् । खतिवाडाले बारम्बार पुर्छन् । फेवातालको चारकिल्लादेखि सिमसार क्षेत्र पुर्दै आइरहेको व्यवसायी युवराज खतिवडालाई महानगरले पटक–पटक कारवाहि गरिसकेको छ । यस अघि पनि सिमसार क्षेत्र पुर्दै प्लटिङ गर्दा युवराज खतिवडाका टिपरहरु समातिए । महानगरलाई निकै दबाब पछि केही रकम तिराएर छाडियो ।
महानगरको त्यो कारवाहीलाई सामान्य ठान्ने खतिवडाले पुनः एक पटक फेवातालको चार किल्लाभित्र अवैध रुपमा जग्गा पुरिरहेका छन् । महानगरले बिहीबार जग्गा पुरिरहेको अवस्थामा उनको ट्रकलाई नियन्त्रणमा लिएको छ । फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरीय प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग १ ख ८६८७ नं.को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आइरहेका थिए । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अब नपुर्ने सर्तमा उनलाई त्यो ट्रक बुझाइएको छ ।
फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम चलिरहँदा खुलेआम चुनौती दिँदै आइरहेका छन् ।





