बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्थिक क्षेत्रमा हिजोभन्दा सुधार हुनेछ: उपप्रधानमन्त्री महासेठ

आर्थिक क्षेत्रमा हिजोभन्दा सुधार हुनेछ: उपप्रधानमन्त्री महासेठ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८०, शनिबार

काठमाडौं / उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री महासेठले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको संकेत गरे ।

‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्‍यो भने गाडी एक्सिडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरुले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ ’, उनले भने ।

उपप्रधानमन्त्री महासेठले सरकार र निजी क्षेत्रबीच सहकार्य भए मात्र आर्थिक क्षेत्रमा फड्को मार्न सकिने बताए । ‘देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौं । निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरु सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन’, उनले भने ।

सो कार्यक्रममा मन्तब्य राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । अध्यक्ष ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक नभईकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।

उनले चैत्र २८ गतेको महासङ्घको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको जानकारी दिए । ढकालले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए ।

‘चैत्र २८ गते हाम्रो साधारण सभा आउँदैछ । सबै राजनीतिक दलका अध्यक्षज्युहरु, पूर्वप्रधानमन्त्रीज्युहरु र खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेका छौँ ।’, अध्यक्ष ढकालले भने, ‘जहाँ हाम्रा आर्थिक एजेण्डाहरुलाई सबै राजनीतिक दलले ऐक्यबद्धताको रूपमा वास्तवमा त्यो प्रतिबद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ । अहिले लगानी सम्मेलन आइरहेको छ । हामीले धेरै पहिलादेखि भन्दै गरेको यो बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट पहिला जुन बिपा भनेर अघि बढाइएको थियो, अहिले मन्त्रिपरिषदमा गएर कमिटीमा गएको कुरा छ । यो जतिसक्दो छिटो पास गरेर अघि बढाइयोस् ।’ अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->