बागलुङ/पर्वतको सदरमुकाम कुश्मास्थित तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्षले आफ्नै परिवार भित्रका सदस्यबाट सहकारी चलाएको खुलेको छ । हाल २९ करोड ठगी अभियोगमा फरार बालगोपाल श्रेष्ठले आफ्नै परिवारका ९ जना राखेर सहकारी संचालन गरेको र त्यही अवसरमा करोडाँै ठगी गरेको खुलेको हो ।
मुख्य अभियुक्त श्रेष्ठ फरार छन् भने उनकै भाइ किशोर श्रेष्ठ पनि फरार छन् । भाइले माता पाथीभरा बचत तथा ऋण सहकारी संस्था चलाएको र उनले पनि सहकारीमा करोडौं रकम ठगी गरेका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीको अनुसन्धानमा पनि श्रेष्ठ परिवारका ९ जनाविरुद्ध फक्राउ पूर्जी जारी छ । प्रहरीका अनुसार उनको परिवारका २ जना धरौटीमा छुटेका छन् भने ६ जना फरार सूचीमा छन् । श्रेष्ठका बाबु कर्णबहादुर, आमा शकुन्तला, भाइ किसोर, बुहारी बिनिता, दिदी बिन्दु, भान्जी अञ्जलीविरुद्ध मुद्दा छ । माता पाथीभरा सहकारीका अध्यक्ष भाइ किशोर कारागार गइसकेका छन् भने भाउजु सत्या र भिनाजु राजेन्द्र श्रेष्ठविरुद्ध पनि मुद्दा चलेको छ ।
प्रहरीका अनुसार तपाईं हाम्रो सहकारीका २२ जनालाई मुद्दा दर्ता भएकोमा २ जना पुर्पक्षमा छन् । २ जना ३० लाख धरौटीमा छुटेका छन् । श्रेष्ठका बाबुआमा पनि जनही १ लाख ५० हजार धरौटी राखेर छुटेका हुन् । उनीहरुले दुईवटै सहकारी नाम मात्रै फरक बनाएर बचतकर्ता र शेयर सदस्यको रकम ठगेका थिए । खाताहरु पनि गोप्य र खुला बनाएर मिलेमतोमा रकम ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
जिल्ला सरकारी वलिकको कार्यालयले अदालतमा पेश गरेको मुद्दामा तपाइ हाम्रो बहुउद्देश्यीय सहकारीमा २९ करोड ९८ लाख रुपैयाँ र माता पाथिभरा सहकारीमा ११ करोड ११ लाख ९० हजार हिनामिना गरेको उल्लेख छ । त्यस बाहेक कुश्माकै ग्रामीण कृषि विकास सहकारीमा पनि संचालकहरु मिलेर १० करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष लेखनाथ शर्मासहित ६ जनालाई पुर्पक्षमा पठाएको छ ।
सहकारीमा आर्थिक कारोबार हिनामिना पार्न सघाउने सफ्टवेयर डेभलपरको रुपमा काम गरेका प्रतिमान पौडेललाई पनि अदालतले पुर्पक्ष पठाएको प्रहरी निरीक्षक केशव केसीले बताए । २९ करोड ठगी गरेर भागेका बालगोपालबिरुद्ध भने प्रहरीले रेडकर्नरको तयारी गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म फरार र पुर्पक्षमा रहेकाहरुबाट ५५ करोडको बिगो दावी गरिएको हो ।





