पोखरा/पर्यटकीय नगरी पोखरा आजबाट पर्यटकीय राजधानी हुँदैछ । लामो समयदेखि पर्यटकीय राजधानीको रुपमा दाबी गरिदैँ आएको पोखरालाई एक समारोहका बिच आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा ६ बैदाममा पर्यटकीय राजधानीको रुपमा घोषणा गर्नेछन् । पर्यटकीय राजधानी घोषणासँगै अब पोखरा २४ सै घण्टा खुला रहने सन्देश पनि दिइँदैछ । घोषणा हुने भएपछि शनिबार सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा २४ सै घण्टा खुला गर्ने निर्णय गरेको थियो ।
निस्चित मापदण्ड पुरा गरेका मुख्य सहरी क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा भएसंगै २४ सै घण्टा खुला राख्ने निर्णय भएको हो । सुरुवातमा मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुल्ला हुनेछ । खुला राख्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले निस्चित मापदण्ड भने पूरा गर्नुपर्ने सर्त रहेको छ । पछिल्लो समय पोखरालाई उज्यालो पोखराको रुपमा समेत अघि बढाइएको छ । महानगरले पर्यटकीय राजधानी घोषणा सँगै आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा समेत दिएको छ ।
०८० मंसिर १२ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदस्तरीय निर्णयानुसार पर्यटकीय राजधानी घोषणा अध्ययन समितिको गठन भई मिति मंसिर २६ गते समितिको पहिलो बैठक बसि कार्यारम्भ गरिएको थियो ।
पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्ने, सेवाको गुणात्मकता वृद्धि गर्न अवलम्वन गर्नुपर्ने विषयको पहिचान गर्ने, पर्यटकीय राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डहरुको पहिचान गर्ने, पर्यटकीय राजधानी घोषणा गर्ने प्रकृयाहरुको पहिचान गर्ने तथा अध्ययन गरी तयार भएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने कार्यक्षेत्रगत शर्त दिइएको र प्रतिवेदन पेश गर्न एक महिनाको समयावधि तोकिएको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको आवश्यकता÷औचित्य गण्डकी प्रदेश सरकारले आफ्नो नीति, योजना, वजेट र कार्यक्रममा पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार मानेको हुँदा पर्यटन क्षेत्रको दिगो विकास र व्यवस्थापन मार्फत् प्रादेशिक अर्थतन्त्रको दिगो आधारशिला तयार पार्न यस क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता रहेको छ ।
घोषणापत्रमा उल्लेख भएअनुसार पोखरामा पर्यटन क्षेत्रमा प्रशस्त लगानी भईसकेको, देशका प्रमुख शहरहरूसँग हवाई तथा स्तरीय बससेवामार्फत नियमित आवागमन सेवा सञ्चालनमा रहेको, पोखरा पर्यटकको लागि सुरक्षित गन्तव्य रहेको, देशका अन्य पर्यटकीय गन्तव्यहरू पोखरासँग जोडिएको, अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त देशका प्रमुख पदयात्रा मार्ग तथा धार्मिक स्थलहरूको प्रवेशद्वारको रुपमा स्थापित भएको, पर्यटकीय सम्पदा तथा गतिविधिको आधारमा पनि अग्रस्थानमा रहेको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रदेश सरकार, स्थानीय तहहरु, संघ, संस्था र सरोकारवालाको संलग्नतामा पर्यटकीय राजधानी घोषणा हुने बताएका छन् । पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्ने तयारी छ ।
मेयर आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवद्र्धनात्मक क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने र यसको विकासका लागि पर्यटन पूर्वाधारका साथै ब्राण्डिङ गर्नु महत्वपुर्ण पक्ष रहेको बताए ।
उनका अनुसार विश्व बजारमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न अभ्यासहरू प्रचलनमा रहेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका संयुक्त रूपमा यस क्षेत्रमा रहेका अद्धितिय पर्यटकीय गन्तव्यहरूका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकास मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने दिशामा अगाडी बढाएको बताए ।
‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा पर्यटन प्रवद्र्धन मार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन सहित सुधार, रोजगारी सृजना र गरिबी निवारणमा उल्लेखनीय प्रगति सहित दिगो पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ’ मेयरले भने, ‘सुन्दर फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने औपचारिक समारोह आयोजना गरिएको सहर्ष जानकारी गराउँदछौँ ।’
गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र मानी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अन्तराष्ट्रिय अभ्यास तथा प्रयोग, सो सम्बन्धी सिद्धान्त तथा स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ठ आधार देखिएको घोषणापत्रको निष्कर्ष रहेको छ ।
पर्यटकीय राजधानीको लागि आवश्यक पर्ने प्राकृतिक आकर्षण, पर्यटकीय आवास, पर्यटकीय सुविधा तथा पर्यटकीय गतिविधिहरूको अवस्था तुलनात्मकरूपमा राम्रो देखिएको छ । यातायातको पहुँच तथा सञ्जाल, सेवा प्रदायकहरूको विविधता तथा परिमाण, कानूनी तथा नीतिगत व्यवस्था, शान्ति सुरक्षा, पर्यटनबाट अर्थतन्त्रमा परेको प्रभाव, पर्यटकहरूको अनुभव र अनुभूति, रैथाने परिकारको अवस्था र मेला तथा महोत्सव जस्ता क्षेत्रहरूको अवस्था उत्साहजनक देखिए पनि यी क्षेत्रहरूमा क्रमशअध्ययनबाट देखिएको सुधार गर्दै जानु पर्ने छ । माइस पर्यटनको विद्यमान अवस्था, स्याटलाईट गन्तव्य, पर्यटन क्षेत्रमा नवीनतम अवधारणाको प्रयोग, पर्यटनको दिगो व्यवस्थापन, पर्यटनको प्रभाव र मुल्याङ्कन, पर्यटन तथा पर्यटकीय उपजको बजारिकरण तथा प्रवर्द्धन, आतिथ्यता र सेवाको गुणस्तरको अवस्था सुधार गर्नुपर्ने देखिएकोले पर्यटकीय राजधानीको विकासको लागि प्रष्ट दृष्टिकोण, तदनुरूप नीति, योजना र कार्यक्रम सहित एकीकृत र समन्वयात्मक प्रयासको अपेक्षा गरिएको छ ।





