पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई न्याय दिलाउने आश्वासन दिएका छन् ।
आइतबार पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । पोखरा आएका प्रधानमन्त्रीलाई आइतबार संघर्ष समितिका संयोजक किरण श्रेष्ठसहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको थियो ।
संयोजक श्रेष्ठका अनुसार ज्ञापनपत्रमा सहकारीका अध्यक्ष जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको र पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुप¥यो भनेर प्रधानमन्त्रीलाई आग्रह ग¥यौँ,’ श्रेष्ठले भने, ‘उहाँले जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भन्नुभएको छ ।’
प्रधानमन्त्रीलाई पोउवा संघको ज्ञापनपत्र
पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।
आइतबार संघको तर्फबाट अध्यक्ष पवनकुमार प्रजापतिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । संघले यसअघि पनि पटक–पटक प्रधानमन्त्रीलाई यो विषयबारे ध्यानाकर्षण गराएको स्मरण गर्दै विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग दोहो¥याएको हो ।
ज्ञापनपत्रमा कोरला नाका संचालन र कोरोला नाका संचालन तथा मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउन पनि माग गरिएको छ । यस्तै पृथ्वी राजमार्गको स्तरोन्नति,पोखरामा ७८ किलोमिटर लामो चक्रपथ निर्माणको लागि बजेट विनियोजन गर्न पनि संघले माग गरेको छ ।
संघले पर्यटकीय नगरी पोखरामा विदेशी पर्यटकका निम्ति मौलिक र भव्य कोसेली घर आवश्यक रहेको बताउँदै संघले कोसेली घर निर्माणको पहल थालेको र त्यसमा संघ सरकारबाट सहयोगको अपेक्षा राखेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको गति बढाउन तथा भइरहेको युवा पलायन रोक्न औद्योगिकीकरण र रोजागारी पहिलो भएको उल्लेख गर्दै अगाडि भनिएको छ,‘ देशमै केही हुन्छ भन्ने विश्वासलाई अझ सुदृढ बनाउन लगानी बढाउनुपर्ने आवश्यकतालाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने हाम्रो आग्रह रहेको छ ।’





