शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी प्रदेशको बाह्र सय हेक्टरमा डढेलो

गण्डकी प्रदेशको बाह्र सय हेक्टरमा डढेलो


  • रासस
  • चैत्र ९ २०८०, शुक्रबार

फाइल तस्बिर

गण्डकी/गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
‘मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ’, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ ।
म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिए । कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ । स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो ।
वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताए । ‘बर्सेनी डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरुको बासस्थान नष्ट हुन्छ’, उनले भने, ‘डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको हुन्छ ।’
थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उनले बताए । वन व्यवस्थापनलाई चुस्त बनाउनसके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->