पोखरा/पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताएकी छन् । ६७ औँ सहकारी दिवसको २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भनिन्,‘ सहकारीका सिद्धान्तलाई आत्मसात नगर्दा अहिलेको अवस्था सृजना भएको छ । त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्नुुपर्छ ।’ उनले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पीडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड पनि दिइन् ।
सहकारीलाई कसरी अगाडी बढाउने र समृद्धिसँग जोडने भन्ने बारेमा यस्ता छलफलबाट निष्कर्ष निकाल्न सहज हुने उनको भनाइ थियो । उनले सहकारीप्रति गुुमेको विश्वासलाई बृद्धि गर्न सबैको भूमिका हुने बताउँदै आर्थिक रुपमा आत्मनिर्भर बताउँदै समानता कायम गर्न सहयोगी बन्ने उल्लेख पनि गरिन् । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुका साधारणसभा देखावटी, भत्ता र खाजाका कारण बिग्रिएको बताए ।
‘साधारण सभामा शेयर सदस्यहरुले भत्तालाई प्राथमिकता दिने प्रचलनका कारण सहकारीहरु समस्यामा परेका छन्’,उनले भने,‘ सहकारीलाई व्यवस्थित बनाउने सञ्चालक र शेयर सदस्यहरुले हो तर भत्तामा ध्यान केन्द्रीत गर्ने अरु विषयमा ध्यान नदिँदा समस्या देखियो ।’ उनले सहकारीप्रति गुुमेको विश्वासलाई फर्काउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार भेषराज रिजाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापालगायतले सहकारीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने स्वागत सहकारी शाखाका प्रमुख अनिल कार्की र सञ्चालन सहकारी समितिका सदस्य दीपक आचार्यले गरेका थिए ।





