शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

इलाम-२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

इलाम-२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

पोखरा / प्रतिनिधीसभाका लागि हुन गइरहेको इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले साझा उम्मेदवार उठाउने सहमति भएको छ। दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने सहमति गरेका हुन्।

माओवादी केन्द्रीय सदस्य तथा पार्टीबाट उम्मेदवारमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले पार्टी केन्द्रबाट एमाले उम्मेदवारलाई सघाउन निर्देशन आएको बताए।

‘सम्भवतः दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएको होला, हामीलाई इलाम(२ मा एमाले उम्मेदवारलाई सघाउन केन्द्रबाट निर्देशन आएको छ,’ शर्माले भने, ‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’ उनले बझाङको प्रदेशसभामा माओवादी उम्मेदवारलाई एमालेले सघाउने सहमति भएको हुनसक्ने बताए।

माओवादी जिल्ला कमिटीले शर्मालाई एकल रूपमा उम्मेदवार बनाउन सिफारिस गरेको थियो। केन्द्रबाट निर्णय नआउँदै उनको चुनावी प्रचारसमेत सुरु भएको थियो।

२०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। खड्का तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए।

रास्वपाले यो क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ भने पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन्। राप्रपाले लक्ष्मी गुरुङ र नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->