बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिद्युत् प्राधिकरणले ८ सय मेगावाट सौर्य विद्युत् खरिद गर्ने

बिद्युत् प्राधिकरणले ८ सय मेगावाट सौर्य विद्युत् खरिद गर्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको छ । एक प्रवर्धकले बढीमा १५० मेगावाट आयोजना आपूर्ति गर्ने गरी बुधबार बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।

२५ वर्ष अवधिका लागि विद्युत् खरिद बिक्री सम्झौता गर्ने गरी आह्वान गरिएको बोलपत्र अनुसार १० मेगावाटभन्दा साना आयोजनाले १८ महिनाभित्र र त्यसभन्दा ठुला आयोजनाले २ बर्षभित्र विद्युत् उपलब्ध गराउनुपर्ने हुन्छ । प्रतिस्पर्धी दरमा प्रस्ताव पेस गर्न आह्वान गरिएको हो ।

प्राधिकरणले प्रतियुनिट ५ रुपियाँ ९४ पैसा अधिकतम दर निर्धारण गरेको छ । सो दरभन्दा कममा प्रस्ताव गर्ने आयोजनाले उपयुक्तताका आधारमा पिपिए गर्न पाउने विद्युत् व्यापार विभागका प्रमुख राजन ढकालले जानकारी दिए ।

‘हामीले लोड सेन्टर र सबस्टेसनको उपलब्धताका आधारमा तथा न्यून दर प्रस्ताव गर्ने प्रवर्धकको प्रस्ताव स्वीकार गर्ने हो,’ उनले भने, ‘२५ वर्षसम्म टेक अपर पेकै आधारमा पिपिए गरिने भएकाले प्रतिस्पर्धी दरमै प्रस्ताव आउने अपेक्षा छ ।’ प्राधिकरणले गत वर्ष एक सय मेगावाट सौर्य आयोजनाको पिपिएका लागि यस्तै प्रस्ताव आह्वान गर्दा न्यूनतम ५ रुपियाँ ८६ पैसासम्ममा पिपिए प्रस्ताव आएको थियो ।

प्राधिकरणले तराईका लोड सेन्टरमा बढ्दो विद्युतको माग र विद्युत् आपूर्ति सन्तुलन कायम गर्ने गरी यो प्रस्ताव आह्वान गरेको हो । मौसमी प्रतिकूलताका कारण सुक्खायाममा जल प्रवाही आयोजनाको विद्युत् उत्पादन १० प्रतिशतसम्म झर्न थालेपछि प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्दै आएको छ ।

त्यसबाहेक तराईका औद्योगिक कोरिडोरमा पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइनको सीमितताले समस्या परिरहेको छ । यही अवस्थामा सहजता ल्याउन दुई वर्षभित्र थप आठ सय मेगावाट सौर्य ऊर्जा जडान गर्न चाहेको हो ।

‘सुक्खायामको बढ्दो ऊर्जा असन्तुलनलाई उपयुक्त व्यवस्थापन गर्ने रणनीति अनुसार यी आयोजना निर्माणको अपेक्षा गरिएको हो,” ढकालले भने, “वर्षायाममा निर्यातका लागि र हिउँदमा दिनको समयमा अर्धजलाशयमा पानी सङ्कलन बढाएर पिक डिमान्ड व्यवस्थापन गर्ने प्राधिकरणको उद्देश्य छ ।’

लोड सेन्टर नजिकै सौय ऊर्जा आयोजना निर्माण हुँदा प्राधिकरणलाई प्रसारण प्रणालीमा दबाब कम पर्ने, चुहावट पनि कम हुने भएकाले विराटनगर, वीरगन्ज, पर्सा बुटवल भैरहवा, नेपालगन्ज, महेन्द्रनगरलगायतका क्षेत्रमा सौर्य ऊर्जाका आयोजना बन्ने अपेक्षा प्राधिकरणको छ । यस अनुसार करिब ९० ग्रिड तथा वितरण सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने गरी सौर्य विद्युत् आयोजना बन्ने छन् ।

विद्युत् आपूर्ति व्यवस्थापनलाई किफायती बनाउन पनि सौर्य ऊर्जा आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता गर्न प्रस्ताव आह्वान गरिएको हो ।

नेपालमा अहिले २३० मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको छ । यीमध्ये ११० मेगावाटका आयोजनाबाट विद्युत् आपूर्ति सुरु भइसकेको छ । १२० मेगावाटका आयोजना निर्माणाधीन छन् । प्राधिकरणले देवीघाट जलविद्युत् आयोजना परिसरमा २५ मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->