पोखरा/पोखरामा अब मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेमा हदैसम्मको कारवाहि हुनेभएको छ । आम नागरीकलाई त्रास दिने र ध्वनी प्रदुषण हुनेगरी मोडिफाइ गराउने र गर्ने दुवैलाई सम्झाएर छाड्ने गरेपनि अब कास्की प्रहरीले यातायात सम्बन्धि विभिन्न मुद्धामा कारावाहि गर्ने भएको छ ।
शुक्रबार पोखरामा आयोजित मोटरसाइकल वर्कसपहरुसँगको छलफल तथा सचेतना मुलक स्टिकर टास्ने कार्यक्रम गर्दै प्रहरीले शुन्य सहनशीलता नीति अपनाएर कारवाहि गर्ने भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले आज (सनिबार) देखि नै शुन्य सहनशीलता नीति लागु गर्ने बताए । पोखरा पर्यटकीय राजधानी भएकाले पनि पर्यटकलाई समेत सास्ती हुने किसिमले विशेषगरी रातको समयमा मोटरसाइकलको स्वरुप परिवर्तन गरि पड्काउँदै हिडँदा दुःख पाउने गरेको भनाई राखे ।
वातावरणमा ध्वनी प्रदुषण गराउन नहुने भन्दै उनले शनिबारदेखि वर्कसपमा मोडिफाइ गराउन आउने मोटरसाइकलवालाको बारेमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरे । ‘आज हामी सचेतनामुलक तरिकाले जानकारी दिन स्टिकर टासेका छौं । सबै वर्कसप र मोटरसाइकल सम्बन्धि काम गर्ने स्थानमा हामी यो राख्ने छौं । यदि कसैले अब मोडिफाइ गरेको पाइएमा छाड्ने छैनौं’ उनले भने, ‘मोडिफाइ गराउने माथि हामी जुन जुन कानून लगाउन मिल्छ सबै लगाउने छौं । थोरैमा पनि एक वर्षको कैद हुनेछ । कसैलाई त्यो सजाय भोग्न मन छ भने मोडिफाइ गराउनुहोला होइन भने हामीलाई साथ दिनुहोला ।’
पोखरा वर्कसप एसोसिएसनका अध्यक्ष अर्जुन सुवेदीले केहि वर्कसप व्यवसायीले गल्ती गर्दा सबैले दुख पाएको बताए । उन धेरै वर्कसपहरुले राज्यको कानूनको पालना गर्दै ध्वनी प्रदुषणका कम गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
सोही क्रममा एक व्यवसायीले भन्सार तिरेरै लिगल रुपमा ल्याएको सामान फेर्दा इल्लीगल हुन नुहने बताए । उनले या सामान आउन बन्द हुनुपर्ने नभए आफुहरुले किनेर ल्याएपछि फेरिदिन किन नपाउने भन्दै प्रश्न गरे ।
जवाफमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले सामान जे प्रायोजनका लागि ल्याएको त्यहि प्रायोजनमा प्रयोग गर्न पाउने बताए । मोटरसाइकलको सवालमा सामान्य सामान फेर्न पाएपनि बाइकको किन्दाको अवस्था भन्दा बाहेकको स्वरुप बनाउन नमिल्ने सुनाए ।
उनका अनुसार मोटरसाइकलमा हुने साइलेन्सर, च्यासिस, रंग, तथा आकारमा विना स्विकृत काम गर्न नपाउने बताए । ‘मोटरसाइकलको केहि पार्टपुर्जा परिवर्तन गर्न नपाइने भन्ने होइन तर, त्यसका लागि स्विकृत लिनुपर्ने हुन्छ । यातायात कार्यालयबाट स्विकृत लिएको खण्डमा सामान परिवर्तन गर्न पाइन्छ’ उनले भने, ‘ जस्तो च्यासिस, साइलेन्सर, मोटरसाइकलको रंग, सक लगायत केहि पार्टपुर्जा परिवर्तन गर्नुपरेमा यातायात विभागबाट स्विकृत लिनुपर्छ । सामान इल्लीगलनै भन्ने होइन ।’
सामुदायिक प्रहरी समन्वयका अध्यक्ष भिम पराजुलीले बाइक धनिले दबाब दिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे । सभ्य समाज निर्माणका लागि सबैको साथ र सहयोगको खाचोँ रहेकाले आम नागरीकलाई हैरानी दिनेगरी मोडिफाइ गराउने विरुद्ध लाग्न समेत अनुरोध गरे ।
चालु आर्थिक वर्षको फागुनसम्म स्वरूप परिवर्तन गरी चलाइएका ६ सय ८१ मोटरसाइकललाई कारवाही गर्दा ७ लाख ४२ हजार ७ सय जरिवाना संकलन भएको छ ।





