बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव

आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार

पोखरा/पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिंचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ । त्यहाँका किसानहरुले वर्षौंदेखि आलु खेती गर्दै आएका छन् । आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ । पोखरा महानगरले हेमजालाई आलु पकेट क्षेत्र घोषणा पनि गरेको छ ।
कास्कीमा १ हजार २५३ हेक्टरमा आलु खेती गरिन्छ । जसबाट वार्षिक २१ हजार ५१० टन उत्पादन हुँदा हेमजाले ५ हजार टन उत्पादन गर्छ । हेमजामा एमएस २२,जनकदेव, खुमलटार रातोलगायतका आलु खेती गरिन्छ ।
आलुको समर्थन मूल्य तोेकेको छ भने हेमजालाई पकेट क्षेत्र घोषणा गरेको छ । हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोड रुपैयाँको कारोबार हुने गरेको महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
त्यही हेमजाको आलु प्रवद्र्धनको लागि आइतबारबाट १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवसुरु भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आलु महोत्सव आयोजना गरिएको हो ।
महोत्सव पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै कहेमजाको सिंचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुनर्निर्माणलाई अगाडि सारेको बताए ।
महानगर प्रवक्तासमेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनालेआलुले हेमजाको पहिचान दिएको बताए ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियालेआलुका परिकारलाई मूल्य श्रृंखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने धारणा राखे ।
महोत्सव सुरु हुनुपूर्व स्थानीय माइस्थानबाट बाजागाजासहित शोभायात्रा एवम् झाँकी ¥याली निकालिएको थियो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायतका मनोरञ्जनात्मक गतिविधि समेटिएका छन् । महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार भइरहेको छ भने करिव ८० टन आलु बिक्री–वितरण हुने आयोजकको अपेक्षा छ । महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->