बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कठै वन निगमको डिपो !

कठै वन निगमको डिपो !

बजारमा प्रतिक्यूफिट ६५ सय रुपैयाँ पर्ने सालको काठ यहाँ ४५ सय रुपैयाँमा दिदा पनि चल्न सकेन


  • लालप्रसाद शर्मा
  • चैत्र २६ २०८०, सोमबार

पोखरा/ झारपात, रुखविरुवा उम्रिएका । चर्किएको भवनमा काठपनि कुहिदै गएका छन । जीर्ण भवनको झ्यालढोका पनि उस्तै जीर्ण छन । पानी चुहिन्छ । कार्यालय कोठामा धुलैधुलो । एउटा कोठामा २ पुराना टेबल, एउटा दराज र अर्को एक कुर्ची । एउटा टेवलमाथि वाईफाई र टेलिफोन सेट छरपस्ट छन । तर चल्दैनन । अर्को टेवलमाथि हाजिरी पुस्तिका, रसिद र एउटा रजिष्टर छन । अर्को कोठामा एउटा साइकल र २ वटा खाली खाट छन । एउटा अर्को कोठामा काठपात र कवाडी सामान छन । एउटा कोठामा सुत्ने विस्तारा छन । भवनभित्र छिर्नसाथ ह्वास्स गन्ध आउछ ।

दृश्य हेर्दा वेवारिसे भवन लाग्न सक्छ । तर त्यस्तो होइन, यो  दृश्य पोखराको पृथ्वीचोक चाइनापुलसंगैको नेपाल वन निमगको पोखरा बिक्री डिपोको हो । यहाँ निर्मल थामी ४ वर्षदेखि ज्यालादारीका चौकीदार बस्छन । उनीसंगै श्रीमती र दुई छोराछोरी पनि छन । थामी हाजिरी पुस्तिकामा हाजिर गर्छन । काम केही हुदैन÷छैन । वस्, हाजिरमात्रै गर्ने हो । कार्यालयको माथिल्लो तलामा थामी परिवार बस्छ ।
२०३३ सालदेखि दाहसंस्कार, बाल्नका लागि प्रयोग हुने दाउरा तथा सरकारी दरमा चिरान काठ विक्री गर्दै आएकोमा झन्डै दुई दशकयता यहा कारोवार ठप्प प्रायः छ । सुरुमा नवलपरासीको बर्दघाटस्थित तत्कालिन टिम्बर कर्पोरेशनको शाखाबाट यहाँ काठदाउरा आउथ्यो । फाट्टफुट्ट अनसाइज र चिरान काठ आउने गरेकोमा बिचको दुई दशक खासै आउन सकेन । बिचका केही वर्ष (एक दशक भन्दा बढी) त कुनै कारोवारै हुन सकेन ।

पछिल्लोपटक गत जेठबाट पोखरेलीलाई सहुलियत दरमा सालको चिरान काठ (झ्याल ढोकाको खापा) उपलब्ध गराउने उद्देश्यससाथ ५ सय क्युफिट काठ ल्याइएको थियो । तर बिक्रीदर भने सन्तोषजनक नरहेको चौकीदार थामी बताउँछन । ‘बजारमा प्रतिक्यूफिट ६५ सय रुपैयाँ पर्ने सालको काठ यहाँ ४५ सय रुपैयाँमा दिदा पनि चल्न सकेन’ उनले भने, ‘कार्यालय र आएको काठको रेखदेख गर्ने हो । बिक्री नभएपछि काठ खासै आउदैन । जीर्ण भवन कुरेर बसेको छु ।’ उनले भवनको भित्तासमेत भत्केकोले डराईडराई बस्नु परेको बताए । वर्षायाममा बढी डर लाग्ने, सर्पको विगविगि रहेको र घेराबार नभएकाले चोरडाँकाको पनि उत्तिकै जोखिम रहेको उनले सुनाए । अहिले उक्त स्थानमा सेती पुल निर्माण भइरहेकाले खानेपानीको समस्या थपिएको र कतैबाट पनि सहयोग नपाएको उनको गुनासो छ ।

एकजनाले एकसय क्युफिट भन्दा बढी काठ पाइदैन । अधिकांश पोखरेलीलाई सर्वसुलभ दरको बिषयमा खासै थाहा नभएकाले पनि कारोवार नभएको हुनसक्ने थामीले बताए । जेठमा ल्याएको ५ सय क्युफिट काठ अझै पुरै बिक्री भएको छैन । पहिला घरको लाजपूर्जा, नक्सा र नेपाली नागरिकताको प्रमाणपत्रसहित काठ माग्दै निवेदन दिनु पर्छ । त्यसपछि मात्रै डिपोले काठ उपलब्ध गराउँछ । ‘बिज्ञापन पनि नभएर होकी कसैले वास्ता गर्दैनन’ थामीले भने, ‘अवस्था नाजुक छ, काठदाउरा आउन छाडेपछि कुनै काम हुदैन । बोर्ड र जीर्ण भवनबाहेक अरु केही छैन ।’

कर्मचारीका लागि बनाइएको ५ कोठे अर्को क्वार्टर भवन पनि त्यत्तिकै खाली छ । केही माथि रहेको एउटा हलमा सुकुम्बासी बसेका छन ।
कुनैबेला यस कार्यालयमा (डिपो) २९ जनासम्म कर्मचारी थिए । मुलुकभर सामुदायीक वनको संख्या बढ्दै गएको र राष्ट्रिय वनमा काठ दाउरा अभाव हुन थालेपछि देशका विभिन्न स्थानमा जस्तै यो डिपो पनि बेकामे भएको हो । सेती नदी किनारमा १७ रोपनी जग्गामा कार्यालय, आवास र हल गरी ३ भवन छन । जग्गा पनि वेवारिसे जस्तै छ ।

पोखरा डिपो हेर्दै आएको नेपाल वन निगमको चितवना शाखाका निमित्त प्रमुख हिमलाल बरालले डिपोको जग्गा र चिरान काठको बिक्री वितरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए । ‘डिपोमा अपेक्षित रुपमा चिरान काठ विक्री हुन सकेन,’ उनले टेलिफोनमा भने, ‘यो डिपोको विषयमा छिट्टै ठोस योजना आउने छ ।’ गत जेठयता ५ सय क्यूफिट काठ डिपोमा पठाइएको भए पनि खासै बिक्री नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->