बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घान्द्रुक पर्यटन महोत्सव सुरु

घान्द्रुक पर्यटन महोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८०, मंगलबार

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ मा पर्ने प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित सुरु महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्दै घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण ७ देखि ११ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं,’ केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’ उनले घान्द्रुक पुग्ने सडक आफ्नो कार्यकालमा कालोपत्रे बनाउने बताए ।

यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जीवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’ उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

यसैबीच महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ । दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ ।
महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।
यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए ।

महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।
घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->