बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवा नव वर्ष महोत्सव सुरु

फेवा नव वर्ष महोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८०, बिहिबार

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि १९ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । पंचेबाजा र विभिन्न जातजातिका झाँकीसहित फेवातालको किनारमा महोत्सव सुरु भएको हो ।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गर्दै फेवातालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवातालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिंदै उनले कसैलाई अन्याय नहुने गरी महानगर अगाडि बढ्ने बताए ।

पोखरा पर्यटनको राजधानी घोषणा भएको सन्दर्भ स्मरण गराउँदै आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटकमैत्री हुनुपर्ने बताए । रातभरि सञ्चालन हुने रात्रिकालिन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आबश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाएको जानकारी उनले गराए ।
उद्घाटन अवसरमा आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पंचैबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जनाए । निःशुल्क प्रवेशको व्यवस्था भएको र स्थानीय ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजित महोत्सवका पाहुनलाई होटलको विलमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको पनि सुवेदीले बताए ।

वाराही आरतिको प्रस्तुती र एसके डान्सका तर्फबाट नृत्य प्रस्तुत गरी सुरु गरिएको महोत्सवमा दर्जनौं झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहहरुको सहभागिता रहेको थियो । महोत्सव उद्घाटन अघि निकालिएका झाँकी र र्याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाहरुको विक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

कार्यक्रमका अवसरमा होटल संघ नेपालका केन्द्रिय अध्यक्ष विनायक शाह, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङ, आयोजक संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठ, महिला सञ्जाल पोखरा ६ कि अध्यक्ष बबिता मल्लले भनाई राखेका थिए । गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सव नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन र सहयोग गरेका हुन् । गण्डकी प्रदेश सरकार र होटल संघ नेपालले पनि महोत्सवलाई सघाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->