पोखरा/इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ ।
पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले बताए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उनले जनाए ।
नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको बताए । प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकहरूको आकर्षणले उत्साह थपेको बताउँदै २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गरे । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उनले प्रशंसा गरे । एगा पोखराका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले नयाँ वर्ष २०८१ ले पर्यटन व्यवसायीमा थप उमङ्ग र उत्साह ल्याउने बताउँदै सबैमा व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल (पौडेल) ले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गरेका थिए । कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।





