शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सर्वोच्चको पेशी अगावै गण्डकीमा विश्वासको मत लिने तयारी

सर्वोच्चको पेशी अगावै गण्डकीमा विश्वासको मत लिने तयारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार

पोखरा/ अल्पमतमा परेको गण्डकी सरकारले सर्वोच्चको पेशी अगावै विश्वासको मत लिने तयारी थालेको छ । यसका लागि कानूनी परामर्शमा मुख्यमन्त्रीदेखि अन्य मन्त्रीहरु जुटिसकेका छन ।

सरकारका प्रवक्ता तथा बिना विभागीयमन्त्री हरिबहादुर चुमानले विश्वासको मत लिनेबारेमा छलफल भइरहेको जानकारी दिए । ‘विश्वासको मत लिने कुरा छ । कहिले लिने भन्ने बारेमा छलफल भइरहेको छ, ठोस भइसकेको छैन,’ चुमानले भने । त्यसका लागि प्रदेशसभाको बैठक आह्वान पनि गर्नुपर्ने हुन्छ । सरकारले छिटै नै प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक आह्वानको लागि मन्त्रिपरिषद्को निर्णय सिफारिस गर्ने तयारीसमेत गरेको छ ।

सर्वोच्च अदालतले गण्डकी सरकारको विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमाथि वैशाख १० गतेलाई पेशी तोकेको छ । तर, त्यसअगावै विश्वासको मत लिइहाल्ने तयारीमा गठबन्धन लागेको छ ।

‘हामी कानूनी परामर्शमा छौँ । अगाडि नै (१० गते) लिन पाए हुन्थ्यो भन्ने छ, ठ्याक्कै कहिले लिने भन्ने छैन । यहाँको बारेमा माथि नेताहरुले पनि छलफल चलाइरहनुभएको छ । अब माथि के निर्णय हुन्छ, माथिको छलफल तुरुन्तातुरुन्तै थाहा हुँदैन, सम्भव भएसम्म १० गते अगाडि नै लिने भन्ने छ,’मन्त्री चुमानले भने । विश्वासको मत लिनका लागि थुप्रै विकल्पहरु रहेको र त्यसका लागि परामर्श गरिरहेको उनले जानकारी दिए ।मुख्य न्यायधिवक्ता कृष्णप्रसाद अधिकारीले मतिको टुंगो नलागेतापनि विश्वासको मतबारे छलफल गरिएको बताए ।

‘विश्वासको मत लिने तयारी भइरहेको छ । मिति चाहिँ अहिले नै टुंगो लागिसकेको छैन, सबै विकल्पमा हामीले छलफल गरेका छौँ । १० गतेभन्दा अगाडि नै हुन पनि सक्छ,’ उनले भने । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता रहेको हुँदा त्यसको तयारी गरिरहेको उनले जानकारी दिए ।
गत चैत २५ गते सभामुख कृष्ण धिताललाई समेत गणना गरेर एमाले माओवादी गठबन्धनले सरकारमा दाबी गरेका थिए ।

एमालेका २२, माओवादीका ८ र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई समेत गणना गरेर आवश्यक ३१ जनाको बहुमत रहेको भन्दै गठबन्धनबाट खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनीहरुले सरकारमा दाबी गरेका थिए ।

उक्त कदम असंवैधानिक रहेको हुँदा नियुक्ती नगर्न भन्दै कांग्रेसले पनि प्रदेश प्रमुखलाई असहमति पत्र बुझाएको थियो । तर, सोही दिन प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

सोही कदमलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २७ गते सर्वोच्चमा रिट दर्ता गराए । उक्त रिटउपर अन्तरिम आदेश जारी गर्दै अधिकारी सरकार कामचलाउ रहेको र दीर्घकालीन प्रकृतिका निर्णय नगर्न सर्वोच्चले आदेश पनि दियो । खनियुक्तिको चार दिनमा नै अल्पमतमा परेको अधिकारी सरकारका मन्त्रीहरुले जिम्मेवारी पनि पाएका छैनन । अर्कातर्फ अन्तरिम आदेश आइसकेपछि सरकार नै अलमलमा परेको अवस्था छ ।सर्वोच्चले वैशाख ७ गते मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल उपलब्ध गराउन प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ भने अर्को पेशी वैशाख १० गतेका लागि तोकिएको छ । यो मुद्धाको सुनुवाई संयुक्त इजलासमा हुनेछ र त्यसपछि मात्रै गण्डकी सरकार के हुने भन्ने बारेमा टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->