बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

परनिर्भरता घटाउन मौलिकताको खोजी

परनिर्भरता घटाउन मौलिकताको खोजी

‘आधुनिक संरचना हामीले भोगिसकेका संरचना होईनन्, परीक्षणकाल चलिरहेको छ’ जैमिनीका उपप्रमुख हरिहर शर्मा भन्छन् ‘मौलिकता जोगाउनु अहिलेको पुस्ताको जिम्मेबारी हो, संरचना निर्माणमा मौलिकताको सुरुवात हामीले थालेका छौं ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

देशभर फरक ठाउँ, जातजाति, अनि धर्मअनुसारका संस्कृति छन् । भुगोल अनुसारको उत्पादन । मानिसहरु जीवनयापनका लागि आफ्नै शैली र प्रबिधिको प्रयोग गर्छन् । प्रकृतीको प्रयोग गर्ने शैली समेत ठाउँअनुसार फरक फरक छन् ।
केही बर्ष अघिसम्म आवतजावतको प्रमुख मार्ग थियो पदमार्ग । मानिसहरु आफ्नो दैनिकी कटाउन होस् वा पशुचौपायका लागि पदमार्गको प्रयोग गर्थे । बागलुङको जैमिनी र आसपासका सर्वसाधारणको भाषामा भन्ने हो भने डहर खन्थे, डहरको संरक्षण गर्थे र हिँड्डुलका लागि प्रयोग गर्थे ।
आधुनिकतासँगै बनेका ठुला र फराकिला सडकले पदमार्ग (डहर) मासिएका छन् । सवारीमा आवतजावत गर्नेहरुले पदमार्गको खासै वास्ता गर्दैनन् । जीवनशैली फेरिएको छ । गाउँले जनजीवनमा आधुनिकतासँगै बनेका सडक प्रयोगका लागि पर्याप्त छैनन् । मेलापात, जन्ती मलामी र टोलको यात्रा गर्न अहिले पनि पदमार्गको आवश्यकता छ । तर अहिले मासिएर पुनः निर्माण हुने पदमार्ग पहिलेका जस्ता छैनन् । सिमेन्ट, बालुवा र गिट्टीबाट बन्ने पदमार्ग चारपाँच बर्ष टिक्छन् न यात्रा सजिलो हुन्छ ।
पदमार्गमा हराउँदै गएको मौलिकता कसले जोगाउने ? हिजो ढुंगामाटोले बनेका पदमार्ग अहिले बनाउन सकिँदैन् ? हिजोको पुस्ताको नासो भोलिको पुस्ताले पाउने की नपाउने ? यस्तै प्रश्नको जवाफ बागलुङको जैमिनी नगरपालिकाले खोज्न थालेको छ । नगरपालिकाले खर्चका हिसाबले सस्तो, स्थानीय स्रोत साधनबाट तयार हुने र मौलिकता बच्ने भएकाले ‘मौलिक पदमार्ग’ निर्माणको काम थालेको नगर उपप्रमुख हरिहर शर्मा बताउँछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि युवाहरुलाई जैमिनीले मौलिक पदमार्ग निर्माणमा लगाउने गरेको छ । हरेक वडामा मासिएका पदमार्ग निर्माण गर्दा मौलिकतालाई ध्यान दिन आग्रह गरिएको शर्मा बताउँछन् । ‘आधुनिक संरचना हामीले भोगिसकेका संरचना होईनन्, परीक्षणकाल चलिरहेको छ’ शर्मा भन्छन् ‘मौलिकता जोगाउनु अहिलेको पुस्ताको जिम्मेबारी हो । कला, संस्कृतिमा मौलिकताको धेरै चर्चा हुन्छ तर संरचना निर्माणमा मौलिकताको खोजी हामीले थालेका छौं ।’ आधुनिक सडक र मौलिक पदमार्ग निर्माणका कामलाई सँगै लैजान सकिने उनको बुझाई छ । मौलिकता हराउँदा परनिर्भरता बढ्ने भएकाले पनि पूर्वाधार निर्माणमा मौलिकताको खोजी गर्न जैमिनीले थालेको हो । यसरी पदमार्ग निर्माणमा स्थानीय सीपको प्रयोग हुने भएकाले आयातित जनशक्तिको आवश्यकता पदैन ।
उत्पादनलाई प्रोत्साहन, बजारीकरणमा साथ
जैमिनी नगरपालिका–३ दमेकका देव बहादुर छन्त्यालको घरमा बर्षौं पहिलेदेखि बाँको (ढकायो) गुन्द्रुक हुन्थ्यो । उनका बाउबाजेले जंगलमा खोजेर ल्याउने बाँको मौलिक प्रबिधिकै प्रयोगबाट गुन्द्रुक बनाउँथे । घरायसी प्रयोजनका लागि बाउबाजेका पालामा बाँकोको गुन्द्रुक बन्थ्यो । बिक्री हुने बजार थिएन् । अन्नसँग साटफेर गर्ने प्रचलन थियो तर निकै कम । दमेकमा अहिले छन्त्याल कृषक समुह गठन भएको छ । मौलिक उत्पादनलाई प्रोत्साहन र बजारीकरणमा सहयोगका लागि नगरपालिकाकै पहलमा समुह गठन भएको हो । समुहले अहिले बाँकोको गुन्द्रुक, सिस्नोको धुलो, आलुको चिप्स बनाउँछ भने भाँगो, मकै लगायतका उत्पादनलाई लेवलिङ र प्याकेजिङ गर्छ । दमेकका मौलिक उत्पादनको लागि नगरपालिकाले प्रशोधन, लेवलिङ र प्याकेजिङको लागि सहयोग गर्दै आएको छ । सीप विकाससँग जोडिएका कयौं गतिबिधिमा पालिकाले किसानलाई सहभागि गराएको छ ।


यहाँको बाँको अहिले बिदेश निर्यात हुन्छ । भाँगो, सिस्नो र मकै नेपाली रहेका बिदेशी बजारमा उच्च माग छ । ‘यो बर्ष उत्पादित बाँकोको गुन्द्रुक मागअनुसार उपलव्ध गराउन सकेनौं’ छन्त्यालले भने ‘हामीले परम्परागत शैलीमा उत्पादन गर्दा माग धेरै छ ।’ दमेकमै अन्य धेरै समुहले मौलिकता आधारित उत्पादनमा जोड दिँदै आएका छन् ।
दमेकको सिरिम्ले मकै यो बर्ष सबैभन्दा छोटो समयमा धेरै बिक्री भएको उत्पादन हो । तेस्रो जैमिनी महोत्सवमा सबैभन्दा धेरै उपभोक्ताको रोजाईमा परेको उत्पादन हो मकै । जैमिनीले भुगोल अनुसार हुने मौलिक उत्पादनलाई सहयोग गर्दै आएको छ । वडा नं. १ मा जुनेलो खेती, वडा नं. ७ मा मह, वडा नं. २ मा सुन्तला र अन्य वडामा अदुवा, बेसार, अलैची लगायतका उत्पादनमा नगरले प्रबद्र्धनात्मक सहयोग गर्छ ।
‘अहिले बिक्री र आम्दानीभन्दा पनि पहिचान र प्रचारका लागि धेरै काम भएका छन्’ नगर उपप्रमुख शर्मा भन्छन्, ‘मौलिकता जोगाउनु हाम्रो कर्तव्य हो, हामीले मौलिकतालाई नगरको पहिचान बनाउन पनि सक्छौं ।’ जैमिनी ३ दमेकको रुद्रताल सामाजिक उद्यमी महिला सहकारीले मकै, भटमास, आलु चिप्स, बाँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङसिरे सिमी तथा भाँगो उत्पादन र बजारीकरण गर्दै आएको छ ।
बीउमा आत्मनिर्भर बन्न रैथानेबाली संरक्षण
नेपालमा पाइने बहुउपयोगी रैथाने बाली संकटमा परेका छन् । आयातित बीउले रैथाने बाली संकटमा परेका हुन् । तथ्यांक अनुसार अहिले नेपालमा ९५ प्रतिशत आयातित बिउको प्रयोग हुन्छ । यो बिषय जैमिनी नगरलाई राम्रोसँग थाहा छ । रैथाने जुनेलो खेती सम्बन्धि एक कार्यक्रममा जैमिनीका नगरप्रमुख नरबहादुर पुनले भनेका थिए– ‘साम्राज्यबाद बिस्तार गर्नेहरुले किसानलाई पहिला परनिर्भर बनाउँछन्, त्यसैले उन्नत बिउका नाउँमा हाम्रा बिउ मास्न लगाएर बीउ दिन्छन्, यसले हाम्रो रैथाने बाली मासिएका छन् ।’ उनले भनेजस्तै आयातित बिउको प्रयोगमा अभ्यस्त भैसकेका किसानलाई रैथाने सीप बीउको प्रयोगका लागि प्रोत्साहन गर्ने कार्यक्रम जैमिनीले ल्याएको छ ।
कोदोबाली संरक्षण, धान बाली, कोशे लगायतका बालीको संरक्षण गर्ने, यस्ता उत्पादनमा लाग्ने किसानलाई, सीप, उपकरण र बीउमलमा अनुदान दिने कार्यक्रम नगरसँग छन् । मौलिक उत्पादन जोगाउनु भनेकै रैथाने बालीको संरक्षण गर्नु भएको नगरको बुझाई छ । नगरले अघिल्लो आर्थिक बर्षमा बिज्ञ सम्मेलन आयोजना गरेको थियो । कृषिसँग सम्बन्धित बिज्ञहरुले चिसो, सुख्खा खडेरी सहन सक्ने जस्ता गुण भएकाले रैथाने बाली जोगाउन सुझाव दिएका थिए । मौसम परिवर्तन र त्योसँग अनुकुलनका लागि पनि रैथाने बाली तयार रहने किसान र उपभोक्ता दुवैलाई मर्का नपर्ने बुझाई नगरको छ ।
प्रविधि संगसंगै स्थानीय स्रोत साधनको भरपुर उपयोग
जैमिनीले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन दिन सुरु गरेको छ । आधुनिक युगमा मेसिन किन्नुको साटो गोरुलाई प्रोत्साहन भनेर यो कार्यक्रमको आयोचना समेत सुरु भएको छ । तर नगर आलोचनाबाट बिचलित छैन । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम ल्याईएको हो ।
‘कृषिमा हाते ट्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो’ कृषि शाखा प्रमुख कृष्ण ढकाल भन्छन् ‘गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमुत्र कमी हुने, बाहिरबाट आउने तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’
आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा बिदेशीने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । ‘गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन्, व्यवसायीक भन्दा आफ्नो लागि उत्पादन गर्ने किसानलाई मेसिनभन्दा गोरुको प्रयोग उपलव्धीमुलक हुन्छ’ ढकाल भन्छन् । नगरपालिकामा झण्डै तीन सयबढी हाते ट्याक्टर लगायत सामग्री खनजोतमा प्रयोग छन् । आवश्यक ठाउँमा प्रबिधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->