पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख १० गते अगाडि नै विश्वासको मत लिने तयारीस्वरुप प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशनका लागि पत्र पठाएका छन । गत चैत २५ मा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि त्यसबिरुद्ध कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्बोच्च अदालतमा मुद्धा दायर गरेका थिए । उक्त मुद्धामा बैशाख ७ गतेभित्र सबै लिखित प्रमाण पेश गर्न सर्बोच्चको आदेश छ, साथै बैशाख १० गतेलाई पेशी तोकिएको छ ।
मुख्यमन्त्री अधिकारी भने पेशी अघिनै विश्वासको मत लिने योजना अनुसार मंगलबार मन्त्रीपरिषद्को बैठकबाट निर्णय गराएर विशेष अधिवेशनका लागि पत्र पठाएका हुन । प्रदेश प्रमुखका प्रेस संयाेजक रञ्जन अधिकारीले पत्र आएको पुष्टी गरे । प्रदेश प्रमुख भट्ट पोखरा बाहिर रहेका र भाेलीमात्र फर्कने जानकारी उनले दिए । भट्ट फर्किएपछिमात्र अधिवेशन आव्हान हुनेछ । विशेष अधिवेशन आव्हान गर्दा कम्तिमा ४८ घण्टा समय दिनु पर्छ । विशेष अधिवेशन आव्हान गरेकै दिन मुख्यमन्त्रीले विश्वासको मत लिने योजना रहेको छ ।





