ऐतिहासिक गलकोट राज्यको नामबाटै चिनिएको गलकोट नगरपालिकाले कोतघर संरक्षण र त्यसको महत्वलाई प्राथमिकीकरण गरेको छ । सोही अनुसार कोतघरलाई जीर्ण घरको रुपमा मात्र नराखी धार्मिक तथा साँस्कृतिक पर्यटक भित्राउने योजना अगाडि सारिएको छ । चैतेदशै र बडादशैमा बिशेष पूजा र मेला लाग्ने यो कोतघर पुग्दा चौबिसे राज्यको झल्को आउँछ । वरिपरि घेराबार र पर्खाल, बिचमा रहेको कोतघरमा पुराना हतियारको थुप्रो, नजिकै कालीका मन्दिर समेत रहेको छ । त्यहाँ पुग्ने सिंढीमार्ग, गलकोट उपत्यका छर्लङ्ग देखिने भएकोले यो स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको हो ।
यो अभियानमा केहीबर्ष अघिदेखि स्थानीय युवाले समेत चासो दिएका थिए । वडा कार्यालयले त यो कोतघर संरक्षणलाई आफ्नो गौरवको योजनामा समावेश गरेको थियो । नगरपालिकाले पनि कोतघर नगरको अस्तित्वसँग जोडिएकोले आवस्यक बजेट बिनियोजनदेखि निर्माणमा पनि चासो राखेको हो । यहाँका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गर्ने गरी कोतमैदान संरक्षण अभियान थालिएको थियो । चालु बर्ष पनि नगरपालिकाको योजनामा कोतघर छ । नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, विदेशमा बस्ने गलकोटेले सुरुवातमा लगानी गरेका छन् ।
मध्यपहाडी लोकमार्गदेखि ६ किमी सडक पार गरेर यहाँ पुग्न सकिन्छ । उक्त सडक व्यवस्थित र कालोपत्रेसम्म गर्ने योजना अगाडि बढेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताए । यसअघि गण्डकी प्रदेश सरकार र नगरको साझेदारीमा ५० लाखको काम भएको छ । झण्डै २० लाख खर्चेर कोतघरको संरक्षण गर्न घेराबार लगाइएको छ । १० लाखको सिंढी निर्माण, ५ लाखको खड्का बनाइएको छ । मन्दिर मर्मत, सडक सुधार लगायतमा खर्च भैसकेपछि गतबर्ष गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख विनियोजन भई बाँकी सिंढी निर्माण गरिएको हो । त्यस्तै गलकोट नगरपालिकाको ७ लाख बजेटले कोतघर परिसरको पूर्वी खण्डमा किस्ला निर्माण भएको छ । नेपाली सेनाको सहकार्यमा झण्डै १५ लाख रुपैयाँ बराबरको काम भएको खत्रीले बताए । ‘सडकको केही खण्डमा नाली र कल्भर्ट निर्माण भैसकेको छ, आगामी बर्षसम्म सबै सडक स्तरीय बनिसक्छ सकिन्छ’ उनले भने, ‘पर्यटनको दृष्टीले पनि यो स्थान महत्वपूर्ण छ ।’ कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्ड देखिन्छ ।
दुइ वर्षअघि हावाहुरीले कोतघर भत्काएको थियो । नगरपालिकाले मर्मत गरेको छ । कोतघरलाई रंगरोगन, मर्मत गरिएको छ । यहाँ रहेको कालीका मन्दिर मर्मत भएको छ । झण्डै एकसय रोपनी जमिन तारबार लगाएर संरक्षण गरिएको छ । खानेपानीको धारा निर्माण गरिएको छ भने सत्तल, बिश्रमस्थल र आर्कषक पदमार्ग निर्माण भैरहेको छ । पदमार्गका लागि नगरपालिकाले ३ लाख लगानी गरेको थियो । आर्कषक गेट बनाएर संरक्षण गर्ने योजना रहेको खत्रीले सुनाए । कोतघरमा अजंगका दुई खुकुरी र दुई खुँडा छन् । एक दुइजनाले सजिलै बोक्न सक्दैनन् । गलकोटे राजाले प्रयोग गरेका तीन सय बर्ष पुराना हतियारसमेत यहाँ सुरक्षित छन् । ‘यी सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको हो’ वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘चैतेदशैमा लाग्ने मेलाले यो स्थानको महत्व दर्शाउँछ ।’ नगरपालिकाले समृद्ध गलकोट बनाउन पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित संरक्षणको अभियान थालेको थियो । सोही कामलाई योजनाबद्ध रुपमा विकास गर्न लागिएको हो ।

गलकोटका पहिलो राजा जितेन्द्र देव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरण पूर्व वि.सं १८४४ सम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटाको रुपमा चिनियो । २०१९ सम्म सदरमुकामको रुपमा गलकोटमा प्रशासनिक इकाइको रुपमा थियो । गलकोटको ऐतिहासिक पृष्ठभूमिलाई अवलोकन गर्दा प्राचीन समयदेखि नेपाल एकीकरण पूर्व (वि.स.१८४४) को अवधिसम्म यो एउटा स्वतन्त्र राज्यका नामले परिचित थियो । वि.सं. २०१७ सम्म पनि यो एउटा रजौटाअन्तर्गतको राज्य नै रह्यो । २०१९ सालसम्म पनि बागलुङ जिल्लाका मुख्य प्रशासनिक इकाईहरु गलकोटमै रहेका थिए । पछि त्यहाँका प्रशासनिक इकाईहरु बागलुङ बजारमा सारियो । उक्त बिरासत झल्काउन कोतघर संरक्षण र पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याएको पूर्व वडा अध्यक्ष बीरजंग भण्डारीले बताए । कोतघर नजिकै सहश्रधारा झरनामा क्यानोनिङको पूर्वाधार समेत बनाइएको छ । कोतघरलाई पर्यटकले घुम्ने मात्र नभई अध्ययन गर्न सक्ने पनि बनाउने नगरको योजना छ । यो अभियानलाई स्थानीयले, इतिहास संरक्षणसँग पनि जोडेका छन् । गण्डकी नगर विकास योजनामार्फत यहाँ ३६ लाख लगानी भैसकेको छ ।
वडादशै र चैतेदशैमा सयौं भक्तजन पूजा गर्न पुग्छन् । नित्यपूजा भने स्थानीयले गर्छन् । कोटमैदान गाउँका ५० घरले अपनत्व लिएर संरक्षण र पूजा गर्ने काम गरिरहेका छन् । यो नगरको गौरवको योजनामा सूचिकृत छ । ‘गौरवको योजनालाई पूर्णता दिन नगरले सकेसम्म प्राथमिकतामा राख्छौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘कालीका मन्दिर जीर्णोदार र सत्तल पनि बनाएका हौं ।’ पक्की घेराबार बनाएर कोतको इतिहास समेत लेखेर राख्ने योजना उनले सुनाए । दुरबिन राखेर सबैतिर हेर्ने व्यवस्थाका लागि तयारी छ । शिलालेख राखेर आउने पर्यटकले पढ्ने र गलकोटको इतिहास थाहा पाउने व्यवस्थाका लागि पनि तयारी गरेको भण्डारीले सुनाए ।
गलकोट राज्यको कोत रहेको स्थान गोलोघर थियो । त्यसैले गोलोकोत भन्ने शब्द अपभ्रम्स भएर गोलकोत र गलकोट भएको ऐतिहासिक दस्तावेजमा उल्लेख छ भन्छन् धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. दिनबहादुर थापा । गलकोटमा रहेको हालको दरबार वडा नं. ५ को हरिचौरमा छ । त्यसअघि यो दरवार हालको वडा नं. ३ स्थित कोतघरमा थियो । खेतीपाती नहुने कोतघरबाट नजरा, श्रद्दाखेतहुँदै हरिचौरमा दरबार सारिएको इतिहास छ । ‘राजा रजौटा भएको स्थानमा कोतघर हुने गर्छ, सियालाको कोतघर पनि त्यसकै उदाहरण हो’ थापा भन्छन्, ‘त्यसैले अहिले पनि कोतघर संरक्षणको अभियान चलेको छ ।’ राजा भएको स्थानमा सेना हुने र उनीहरुको हातहतियार राख्ने स्थान कोतघर हो । यहाँको कोतघरमा अहिले पनि पुराना हतियार संरक्षित छन् । त्यतिले नपुगेर अजंगका खुकुरी र खुँडा बनाएर कोतघरमा राखिएको छ । हरेक बर्षको चैतेदशै र बडादशैमा कोतघरमा बली चढाउने, पूजा तथा मेला लाग्ने गरेको छ ।
कोतघरलाई पर्यटकीय हब बनाउन ‘एक घर एक आजिवन सदस्य’ अभियान
फमबहादुर खत्री
वडा अध्यक्ष (वडा नं. ३, गलकोट नगरपालिका)
गलकोट आँफैमा ऐतिहासिक नगरपालिका हो । गलकोटले कोतघर संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यो अभियान हामीले शुरु गरेका छौं । नगरको आन्तरिक श्रोतले नपुगेपछि गण्डकी प्रदेश सरकार, विभिन्न दाता समेतको सहयोग जुटाएर कोतघर संरक्षण गर्ने हाम्रो योजना छ ।

यो कोतघर संरक्षण गर्दा हामीले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण काम गर्न सक्छौं । सघन सहरी विकास कार्यालयको सहकार्यमा गलकोट नगरपालिकाले नयाँ परियोजना संचालन गर्दैछ । उक्त परियोजनामार्फत हटिया बजारदेखि कोतघर सम्मको ६ किमी सडक कालोपत्रे गर्ने लक्ष्य छ । हाल ४ किमी सडक नगरपालिकाले ग्राभेल हालेर स्तरीय बनाइसकेको हो । कोतघरलाई पर्यटकीय हब बनाउन नगरपालिकाले ‘एक घर एक आजिवन सदस्य’ बनाउने अभियान चलाएको छ । हालसम्म २ सय ५० जना आजिबन सदस्य र ६० जना संस्थापक सदस्य भैसकेका छन् ।
कोतघर गलकोट दरबारसँग पनि सम्बन्धित छ । दरबारका हतियार राख्ने स्थल भएकोले गलकोटे राजाका सन्तानले पनि चैतेदशै र बडादशैमा यहाँ आएर पूजा गर्छन् । गलकोटे राजाका सन्तानको रुपमा मन्जेष बम मल्लले पनि कोतघरको विकास निर्माण र पूजा व्यवस्थापनमा चासो राखेका छन् । उनले आवस्यक सहयोग समेत गरेका छन् । साथै, नगरप्रमुख र उपप्रमुखले पनि कोतघर संरक्षणका लागि पहल र अगुवाई गर्नुभएको छ ।





