पोखरा/पोखराको सिदार्थचोकदेखि विन्ध्यवासिनीसम्म दैनिकजसो विदेशी पर्यटन डुलिरहन्छन् । त्यस क्षेत्रमा जाने हरेक जसो पर्यटकसँग क्यामेरा हुन्छ । जब रामकृष्ण टोलबाट नालामुखसम्म पुग्छन् उनीहरुको क्यामेरामा त्यहाँ रहेका घरहरु कैद हुने गर्दछन् । कारण हो पोखराको व्यापारिक बजारको इतिहास ।
पोखरा शहरी इतिहासमा सबैभन्दा पहिला आउने बजारक्षेत्र भनेकै त्यहि हो । बाइसेचौविसे राज्यताका कास्कीकोटका राजा सिद्धनारायण शाहले पोखरामा व्यापार संचालन गर्न लागि नेवार समुदायको बस्ती बसालेको इतिहास छ । कास्कीका अन्तिम राजाको रुपमा रहेका सिद्धनारायण शाहले भक्तपुरका अन्तिम राजा रणजीत मल्लसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ नेवार परिवारलाई भक्तपुरबाट पोखरा ल्याई सिदार्थचोकदेखि विन्ध्यवासिनीको बिच भागमा बसालेको हामी पाउँछौं । त्यहि २६ परिवार बसोबास गर्न थालेपछि उक्त क्षेत्रको नामै २६ कुरिया रहन गएको हो ।
बढ्दो सहरीकरण सँगै पोखराको मुख्य बजारको रुपमा महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुन पुग्यो । त्यसपछि ऐतिहासिक बजार २६ कुरिया लोप हुँदै गयो । विस्तारै त्यहाँको व्यापार मात्र होइन ती इतिहासका घरहरु समेत लोप हुँदै गइरहेका छन् । अब त्यसक्षेत्रमा मुस्किलले १५–२० घर होलान् ।
पोखराको इतिहाससँग जोडिएकाले पोखरा महानगरपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जे जति घरहरु छन् ती घरहरुको संरक्षण गर्ने पक्षमा उभिएको छ । महानगरले सिदार्थचोकदेखि नालाको मुखसम्म महानगरले ‘नो भेहिकल जोन’ सवारी साधन निषेध क्षेत्रको रुपमा विकास गर्न खोजिरहेको छ ।
२६ कुरियालाई पर्यटकीय क्षेत्र मात्र होइन प्रचिन व्यापारिक केन्द्रको रुपमा समेत चिनाउने महानगरको योजना छ । जसका लागि महानगरले दीगो पर्यटन विकासका लागि एडीवी (एसियाली विकास बैंक) सँग गरेको साढे ७ अर्बको परियोजनामा उक्त स्थल समेत रहेको सुनाए । ‘हामीले यस क्षेत्रको संरक्षण गर्न धेरै काम गरिसकेका छौं । तपाईँहरुलाई लाग्ला महानगरले केहि पनि गरेको छैन् त्यो कदापी होइन । यो क्षेत्रको संरक्ष्ँण र पर्यटन प्रबद्र्धनका लागि धेरै काम भएका छन’ पोखराका मेयर धनराज आचार्यले भने ।

आधुनिक पोखराको विकाससँगै प्राचिन पोखराको संरक्षण गर्ने दायित्व महानगरको रहेको उनी सुनाउँछन् । २६ कुरियामात्र होइन महानगरले पोखराभित्रका सबै सम्पदाको संरक्षण गर्न विभिन्न योजना अघि सारिरहेको छ । ‘सिदार्थचोक देखि नालाको मुखसम्म भेहिकल रहित बनाउने तयारी अघि बढिसकेको छ । यहाँ आउनका लागि घर पछाडीपनि बाटोहरु छन् त्यहाँबाट आउने व्यवस्था गराउने छौं । यदि बाटो नभएको खण्डमा पास वा कार्डको व्यवस्था गरेर कतिबजेदेखि कतिबजेसम्म आउने जाने भन्ने कुरा समेत सोच्नेछौं’ आचार्यले भने, ‘ अहिले यहाँ व्यापार हुँदैन घर हरु खाली छन् । यसलाई पर्यटकीय क्षेत्रसँगै हस्तकला लगायतको व्यापारिक केन्द्र बनाउनु पर्छ सार्थ यहाँ मौलिक सांस्कृतिक सके दैनिक नसके हप्ताको एक पटक देखाउने गरी महानगरले व्यवस्थापन गर्नेछ ।’
अहिले रामकृष्ण टोलमा प्रवेश द्वार निर्माणको काम अघि बढेको सुनाउँदै उनले तत्कालिन पोखरानगर पञ्चायतको कार्यालय रहेको रानीपौवाको सेतो घरको संरक्षण गर्ने बताए ।
पोखराको सम्पदाहरुको संरक्षणकर्ता सुनिल उलकले विश्वका धेरै देशहरुमा ऐतिहासिक क्षेत्रमा प्रवेश गर्दा र फोटो खिच्दा रोयल्टी तिरेर मात्रे खिच्न पाएपनि पोखराको सम्पदामा भने पर्यटकले निशुल्क तस्वीर खिचेर लैजाने गरेको बताए ।
‘पुराना शहर पस्दा रोयल्टी लिने गरिन्छ र त्यसैले त्यस क्षेत्रको विकास गरिन्छ । यस ठाउँमा पनि सिमित क्षेत्र तोकेर शुल्क लिनुपर्छ । यहाँ आउने पर्यटकले निशुल्क फोटो खिचेर लाने गर्छन् । सिदार्थचोकदेखि मोहोरियाटोलसम्म फुटट्रयाकको व्यवस्थापन गर्न जरुरी छ’ उनले भने, ‘पोखरा महानगरपालिकाले यसका लागि नीति बनाउन आवश्यक छ । ऐतिहासिक घरहरु मासिदैँ छन् त्यसको संरक्षण गर्न अत्यावश्यक छ ।’ उनका अनुसार ऐतिहासिक घरहरुमा रहेको ढुंगाको छानोबाट पानी चुहिदा घरधनीले त्यसै छाडेको र नयाँ घर बनाउन थालेका छन् ।
सम्पदा संरक्षण सम्मान उलकलाई
पोखराको सम्पदाको संरक्षणमा लागेका फोटो संकलनकर्ता तथा बालधारा संरक्षणका अभियानकर्ता सुनिल उलकलाई सम्पदा संरक्षण सम्मान प्रदान गरिएको छ । नागरीक समाज कास्कीले विश्व सम्पदा दिवसको अवसर पारेर उलकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । उलकले पोखराको इतिहास झल्कने फोटोहरु संकलन गरेर राखेका छन् ।





