पोखरा/कास्की प्रहरीले छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइड र दीपबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
शनिबार विहान करिब पौने पाँच बजेको समयमा पोखरा ६ लेकसाइड स्थित क्लब क्याटवाल्क अगाडी पार्किङ गरि राखेको ग १० प ४४१२ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा गुल्मी मदाने गाउँपालिका वडा ३ घर भइ हाल पोखरा म.न.पा. ९ नयाँबजार बस्दै आएका ३४ वर्षीय दीपक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै वैशाख ७ गते पोखरा १६ संगमचोकमा घरमै पार्किङ गरी राखेको ग ढ प ४५६३ नम्बरको स्कुटरको नम्बर परिवर्तन गरि चलाउने सुजन नेपालीलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनले पोखरा २ बागलुङ बसपार्कमा नम्बर प्लेट परिवर्तन गरी ग १० प ६६४० नम्बरको बनाई चलाएका थिए । पक्राउ पर्ने पोखरा ४ जुम्लेटीका २० वर्षीय सुजन नेपाली हुन् ।
पछिल्लो तीन महिनामा कास्कीमा चोरी सम्बन्धी १० वटा मुद्दा छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै प्रहरीले लेकसाइड क्षेत्रमा सुरक्षा बढाएपनि चोरी भने घटेको छैन । यस्तै गत साउनदेखि चैत मसान्तसम्म कुल एक हजार ६ सय ३ अपराध दर्ता हुँदा चोरीको अवस्था ५.९८ प्रतिशत भेटिएको छ । प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार औषतमा प्रतिदिन कास्कीमा ६ घटनाहरु हुने गरेका छन् ।





