फाइल तस्बिर
पोखरा/कास्कीका सहकारी पीडितहरुले आज पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
बृहत दबाब ¥याली बिहान १० बजे गैह्रापाटनबाट सुरु हुने सहकारी बचत पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
यसअघि सहकारीका पीडित बचतकर्ताहरुले सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति गठन गरेका थिए । समितिमा इमेज सहकारी,शिव शिखर सहकारी मित्र मिलन सहकारी र बलिदानी सहकारी पीडित विभिन्न पदमा रहेका थिए ।
अध्यक्ष श्रेष्ठले अलिहे कास्कीमा यी ६ वटा सहकारीविरुद्ध उजुरी परेको, मुद्दा प्रक्रिया अगाडि बढेको तथा केही संचालक पक्राउ परेका भए पनि बचतकर्ताले रकम फिर्ता पाउन नसकेको बताए । पोखरामा रहेका अन्य सहकारीहरुले पनि बचतकर्तालाई रकम नदिएको उनले बताए ।
‘बाहिर ६ वटाले मात्र ठगे भनिए पनि यहाँ रहेका कयौं साना–ठूला सहकारीहरुले बचतकर्ताको रकम दिएका छैनन्,’उनले भने,‘उनीहरुको आवाजलाई मुखरित गर्न र बचत फिर्ताको लागि सम्बन्धित निकायलाई दबाब दिन ¥याली गरिन लागिएको हो ।
सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरुले चासो नदिएको पनि उनको भनाइ छ ।
कास्कीमा खुलेका सहकारीमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोड बढी अपचलन भएको छ । त्यसको रकम हिनामिना प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको छ ।
नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा नाम मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय समितिको माग गरे पनि सत्ता गठबन्धनले त्यसलाई स्वीकारेको छैन । कांग्रेसको अवरोधकै बीच संसद अधिवेशन अन्त्य गरिएको छ ।
पोखरामै खुलेको अर्को इमेज बचत तथा ऋण सहकारीबाट पोखरामा मात्र करिब १ अर्ब अपचलन भएको छ । पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज सहकारी चलाएका ढोरपाटनका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा फरार छन् ।
यस्तै, मित्रमिलन, शिव शिखर, बलिदानी सहकारीले पनि करोडौं ठगी गरेको आरोप अदालतमा विचाराधीन छ । यी ठगीका केही आरोपी अझै फरार छन् ।





