पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्दै आएका कास्कीका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि परीक्षणको काम स्थगन गरेका छन । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले हस्ताक्षरसहित परिक्षा नियन्त्रकलाई सम्बोधन गरी समयानुकुल पारिश्रमिक बृद्धि नहुन्जेल कापी परीक्षण कार्य स्थगन रहने व्यहोरा अवगत एवं ध्यानाकर्षण गराएका हुन ।
शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेश र शिक्षा बिकास तथा समन्वय इकाई कास्की बिसं. २०७२ सालदेखि हालसम्म उत्तरपुस्तिका परीक्षण लगायतमा एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको जनाइएको छ । साथै उक्त परीक्षा संचालनका क्रममा उत्तरपूस्तिका परीक्षण पारिश्रमिक, केन्द्राध्यक्ष, निरीक्षकसमेतको भत्ता अत्यन्त न्यून रहेको देखिएको पत्रमा छ । ‘समयमै कापी परीक्षण तथा सम्परीक्षण गरी नतीजा जतिसक्दो चाँडो प्रकाशन हुनुपर्छ भन्ने मान्यता हामी राख्दछौ’ पत्रमा छ, ‘तथापि, पटकपटक यसबारे विगतका वर्षमा पनि मौखिक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकुल पारिश्रमिक बृद्धि नहुन्जेल कापी परीक्षण कार्य स्थगन रहने व्यहोरा अवगत गराउँदै पुनः ध्यााकर्षण गराउदछौ । यसबाट पर्न जाने असरप्रति सम्बन्धित निकायमार्फत नेपाल सरकार जिम्मेवार हुनुपर्ने हाम्रो सामुहीक ठहर छ । यसर्थ एसईईका यी सबै समस्या एकमुष्ठ हल गर्न हामी गम्भिर ध्यानाकर्षण गराउँदछौ ।’

चैत १५ गतेबाट सुरु भएर अन्तिममा सकिएको एसईई परीक्षाका उत्तरपुस्तिकाको अहिले धमाधम परीक्षण भइरहेको छ । प्रतिउत्तरपुस्तिका २४ रुपैयाँ पाउने र त्यसमा १५ प्रतिशत कर तिर्नुपर्छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकहरुको माग जायज भए पनि परीक्षणको काम सुरु हुनुअघि नै आन्दोलन गर्नुपर्नेमा बिचमा आएर स्थगन गर्न नहुने बताए । उत्तरपुस्तिका कसैले नजाँचे सरकारले बिकल्प खोज्ने उनको भनाई थियो ।





