तस्बिर : मनोज कार्की
असारको महिना । सिमसिम पानी परिरहेको थियो । खोलाको पानी ल्याएर रोपाईं गर्ने चटारो थियो गाउँमा । पुर्खाैली सिंचाई कुलो साँघुरो भएकाले गाउँले मिलेर खोलाबाट खेतसम्मको कुलो सरसफाईको काममा खटिरहेका थिए । घटना २०७२ सालको हो । रेश नुन्थलाको फाँटमा आउने सिंचाई कुलो मर्मत भैरहेकै बेला माथीबाट आएको पहिरोले गाउँका केही किसान च्यापिए । समुहमा काम गरिरहेकामध्ये पहिरोले च्यापिनेमा थिइन् झुपा थापा । केहीबेर अघिसम्म कुलोमा रहेको ढुंगामाटो पन्छाउन कस्सिएकी झुपाका हात नचल्ने भए । खुट्टा अँठिए । टाउको र जीउभरी चोटैचोट भयो । कुलामै रहेका अरु गाउँलले झुपालाई अँठिएको अवस्थाबाट उद्वार गरे । तत्कालै अस्पताल पु¥याइयो । केही दिन अस्पताल राखेर फलामको रडको सहयाताले उनका हातखुट्टा चल्ने बनाईयो । अहिले झुपाका हातगोडा घटना हुनुअघिको जस्तो चल्दैनन् । उनी अहिले अपांगता भएकी व्यक्ति हुन् ।
काठेखोला गाउँपालिका ७ रेशकी झुपा थापा बिपत्तिमा परेर घाईते भएपछि अपांगता भएकी व्यक्ति हुन् । आपांगताका कारण झुपाले कष्टका दिन काटिन् । घरखर्च चलाउनकै लागि श्रीमान विदेशिएपछि दुई सन्तानको लालनपालन र पठनपाठन उनकै काँधमा थियो । घर चलाउने, छोराछोरीको संस्कार अनुसारको बिहेबारी लगायतका कर्म गर्नु उनको कर्तव्य बनेर आयो । अपांगतासँग जुधिरहेकी झुपालाई समाज, चालचलन र परिस्थिती सँगसँगै जुध्नुपर्ने थियो नै । काठेखोला गाउँपालिकाले उनलाई ‘ग’ वर्गको अपांगता परिचय पत्र दिएको छ । सरकार र समाजले अपांगता भएका व्यक्तिहरुका लागि दिने सुविधा झुपाले त्यहि कार्डको प्रयोगले लिन्छिन् । श्रीमान विदेशबाट फर्केपछि परिवारको खर्च चलाउने बाटो ज्यालामजदुरी र खेती किसानी हो । शरीरभरि रडको जालो भएकाले झुपाले पहिलेको जस्तो काम गर्न सक्दिनन् । जसोतसो खेतीपाती र ज्याला मजदुरीबाट परिवार चलेकै थियो ।

नजिकको सरकारले सामाजिक सुरक्षामा ध्यान देला, आँफुलाई कमाउने कला सिकाउला भनेर झुपाले सोचेकै थिईनन् । तर अहिले उनी स्थानीय सरकारले दिएको कमाउने कलाले परिवारको खर्च जुटाउन सक्षम भएकी छन् । ‘क’ र ‘ख’ वर्गको अपांगता भएका व्यक्तिहरुलाई मासिक भत्ता दिने गाउँपालिकाले अरु अपांगता भएका व्यक्तिका लागि सीप र बिउँपुजी दिने गरेको छ । वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले आम्दानीसँग जोडिनेगरी सिप र बिउँपुजी दिने गरेको छ ।
झुपाले बाख्रा पालेकी छन् । गत आर्थिक वर्षमा गाउँपालिकाले उनलाई बिउँपूजी स्वरुप माउ बाख्रा निशुल्क उपलव्ध गराएको थियो । गाउँपालिकाले दिएको बाख्राले एकै बेतमा तीनवटा पाठा पायो । मेहनत गरेर झुपाले पाठा हुर्काइन् । छ महिनामै उनले बाख्राबाटै छ महिनालाई पुग्ने घरखर्च जोहो गरिन् भने माउबाख्रा थपिन् । गत आर्थिक वर्षमा गाउँपालिकाले झुपालगायत पालिकाका अपांगता भएका व्यक्तिहरुका लागि बिउँपूजी माउ बाख्रा निशुल्क दिएको थियो । गाउँपालिकाले दिएका बाख्रा सबै अपांगता भएका व्यक्तिहरुले पालेका छन् । केहीले राम्रो आम्दानी गरेका छन् भने कसैको औषत प्रगति । ‘सामाजिक सुरक्षा हाम्रो दायित्व हो, हामीले भत्ता मात्रै होईन आम्दानी गर्ने बाटो पनि सिकाउँछौं भनेर लागेका छौं’ गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले भने ‘माछा मारेर खान दिने होईन माछा मार्न सिकाउने अभियान छ गाउँपालिकामा ।’ झुपालगायत गाउँपालिकाका ‘ग’ वर्ग माथिका अपांगता भएका व्यक्तिहरुको प्रगति देखेर गाउँपालिका दंग छ ।
बेसहारा अपांगता भएकाहरुको घरदैलोमै चिकित्सक
काठेखोला गाउँपालिका २ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपांगता भएका व्यक्ति हुन् । केही बर्षअघि शारीरिक अपांगता भएका सार्कीलाई हिँड्डुल गर्न सक्ने भएकाले ‘ग’ वर्गको अपांगता परिचयपत्र दिईएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रिदोँ थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उनी लामो समय थलिए । ओछ्यानमा आराम गरिरहेका सार्कीलाई अपांगताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाईन्छ भन्ने थाहै थिएन् । सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन् । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरी अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्थै थिएन् । सवारी साधन रिजर्व गरेर अस्पताल र पालिकासम्म पुग्न उनीसँग आर्थिक अभाव थियो ।

गाउँपालिकाले अपांगता परिचय पत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारको क्रममा रहेका अपांगता भएको अवस्था बुझ्ने, अपांगताको बिग्रँदो र सुधार भैरहेको अवस्था बुझ्न्े गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो । उनलाई ‘क’ वर्गको अपांगता परिचय पत्र दिनका लागि गाउँपालिकाले चिकित्सकनै उनको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपांगदा परिचय पत्र दिईयो । घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचय पत्र पाउने हर्क एक्ला व्यक्ति भने होईनन् । काठेखोला गाउँपालिका ७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पुरा गरेर ‘क’ वर्गकै परिचय पत्र पाईन् । काठेखोला गाउँपालिकाले असहाय अपांगता भएका व्यक्तिहरुका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ । ‘सबैलाई घर घरमै चिकित्सक पुर्याउँदा सम्भव हुँदैन्, वडा अध्यक्षहरुले सिफारिस गरेपछि असहाय भएको प्रमाणित भए हामीले पालिकाकै गाडीमा चिकित्सक लिएर सम्बन्धित व्यक्तिको घरमै पुग्छौं’ उपाध्यक्ष थापाले भने ‘खर्च, समय र शारीरिक अवस्थाका आधारमा बेसहारा अपांगता भएका व्यक्तिका घरमै चिकित्सक पुर्याउने गरिएको हो ।’
अपांगता भएका व्यक्तिहरुलाई जस्तै गाउँपालिकाले जेष्ठ नागरिक, पछि परेको समुदाय र महिला तथा बालबालिकाको क्षेत्रमा पनि घरदैलो सेवा, उपचार सेवाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । जेष्ठ नागरिक र एकल महिलका लागि बैंकसँग सहकार्य गरेर घरघरमै साजिक सुरक्षा भत्ता पुर्याउन पालिका तल्लिन छ । गाउँपालिकामा ५१ जना श्रमिक तथा परिवारले यो बर्षमात्रै राहत रकम पाएका छन् । सामाजिक सुरक्षाअन्तर्गत गाउँपालिकाले रोजगार शाखामार्फत कामका क्रममा अंगभंग भएका श्रमिकलाई विधि अनुसारको राहत र मृत्यु भएका श्रमिकको परिवारलाई मृत्यु राहत दिने गरेको छ ।
‘सामाजिक सुरक्षाको पाटो असाध्यै महत्वपूर्ण र घरदैलोमा जोडिने पाटो हो, हामी नीति नियम कार्यान्वयनमा जिम्मेबार भएर लागेका छौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले भने । गाउँपालिकाले सरकारी तथा गैह्रसरकारी संघसंस्थासँग सहकार्य गरेर पनि नागरिकमैत्री सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।





