बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरको क्याम्पसहरूसँग समझदारी

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरको क्याम्पसहरूसँग समझदारी

समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थी परिचालन हुनेछन्


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरको क्याम्पसहरूसँग समझदारी
पोखरा
पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा आइतबार समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहनेछ ।

महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी माग गरी विश्वविद्यालय र क्याम्पसमा पत्राचार गर्नुपर्नेछ । माग भएका विद्यार्थीलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कार्यमा पठाइने छ । यसरी परिचालन गरिने प्रशिक्षार्थिलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्च बापतको रकम उपलब्ध गराउनेछ भने, प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले प्रमाणित गरी अभिलेख राखिने छ ।

समझदारी अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीको पठनपाठनमा कुनै अवरोध सिर्जना हुन नहुने व्यवस्था गरिनु पर्ने छ भने, प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्नेछ । यसरी खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । आवश्यक प्रशिक्षण लिनुपर्ने, पोखरा महानगरपालिका र सम्बन्धित वडा कार्यालयको प्रत्यक्ष निर्देशन र समन्वयमा कार्य गर्ने, आफूले गरेको दैनिक कार्यको विवरण प्रत्येक दिन उल्लेख गरी प्रत्येक हप्ता कार्यालयमा पेस गर्नु पर्नेछ ।

सम्झौता सुरुवात भएको मितिले १८० दिन सम्म कायम हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वीनारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गरेका छन । नगर प्रमुख आचार्यले समझदारी अनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसप्रति विद्यार्थीको आकर्षण समेत बढ्ने विश्वास व्यक्त गरे । नागरिकहरूमा कर शिक्षाको सचेतनासहित विद्यार्थीको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगमा टेवा पुग्ने उनको भनाई थियो । महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने विश्वास उनले लिए ।

समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थी परिचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->