बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

६ वर्षमा पनि बनेन फिर्के पुल

६ वर्षमा पनि बनेन फिर्के पुल

ठेकेदारको लापरवाही र सरकारी निकाय मुकदर्शकको एउटा उदाहरण हो फिर्के पुल


  • लालप्रसाद शर्मा
  • बैशाख २६ २०८१, बुधबार

पोखरा/ साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको पुलको काम ६ वर्ष पुग्नै लाग्दा लगभग २५ प्रतिशतमात्रै भएको छ । नेपालका विभिन्न बिकास निर्माणका योजनामा ठेकेदारले कतिसम्म लापरवाही गर्छन र सरकारी निकाय कसरी मुकदर्शक बन्छन भन्ने पोखराको फिर्के पुल निर्माणको गति हेर्दा थाहा हुन्छ ।

पोखरा बागलुङ अर्थात् भूपी शेरचन मार्गको सुरुबिन्दु जिरो किमीदेखि विन्ध्यावासिनीसम्मको ४ किमी सडक २०७३ मै ६ लेनको बन्यो । विन्ध्यावासिनीदेखि हरिचोकसम्म पनि अहिले ६ लेनको सडकले पूर्णता पाएको छ । सडक ६ लेनको तर पुल भने २ लेनको मात्रै भएपछि दिनहुँ सवारी दुर्घटना हुन थाले । पैदल यात्रुलाई सकस भयो । साँघुरो पुलका कारण दिनहुँजसो दुर्घटना हुन थालेपछि पोखरा महानगरको वडा नम्बर ५, ४ र २ जोड्ने फिर्केखोला माथिको २ लेनको पुलको दायाँ र बायाँ थप २÷२ लेनको पुल बनाएर सडक र पुलको एकरुपता बनाउने योजना बन्यो । पुल अतिरिक्त सौन्दर्य देखिने गरी नेपालमै नमूना खालको अर्थात सिग्नेचर टाइपको स्पेशल एक्स्ट्रा डोज्ड (पायरको सपोर्टमा केवल हालेर टावर) खालको बनाउन ठेक्का सम्झौता भयो ।

२०७५ असोज ८ मा शान्ति आरोग्य जेभी ललितपुरलाई ३० महिना अर्थात २०७७ चैत ३० मा पुन निर्माण सक्ने गरी ठेक्का दिइयो । भ्याट, कन्टेन्जेन्सीलगायत १७ करोड १० लाख १० हजारमा सडक डिभिजन कार्यालय पोखरासंग ठेक्का सम्झौता गरिएको थियो । त्यसमा खानेपानीको पाईप र नहरको व्यवस्थापन पनि गर्नुपथ्र्यो ठेकेदारले । तर ठेकेदोरले कुनै काम गरेनन् । कामै नभएपछि २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा पहिलोपटक म्याद थपियो । तर पनि काम अघि बढेन । ठेकेदारले कोभिड, स्थानीयको अवरोधजस्ता कारण देखाए । फेरी २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पु¥याइयो । ठेकेदारले अटेरी गरिरहे । काम अघि बढेन । २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २० सम्मको समय दिइएको छ ।

oplus_0

तर अवस्था उस्तै छ । पुलको एकातर्फको छेउछेउको पिल्लर क्याप ढलान भएको छ । बीचमा वाई आकारको पायरको तल्लो भागको ढलान भएको छ । अर्कोतर्फ खानेपानीको पाइप र नहर पनि भएकाले कुनै काम सुरु हुन सकेको छैन । तलपट्टी पाइप अड्याउने स्ट्रक्चरको काम भइरहेको भनिए पनि काम भने भएको छैन । ‘हालसम्म बित्तिय प्रगति २२ प्रतिशत र भौतिक प्रगति करिव २५ प्रतिशत रहेको छ’ डिभिजन सडक पोखराका इन्जिनियर प्रतिक प्रधानले भने, ‘ठेकेदारको कामप्रति सन्तुष्ट छैनौ ।’ अव असारसम्मको म्याद भएकाले काम गर्न भनिएको तर यस अवधिमा काम नसकिए ठेक्का तोड्ने अवस्थामा पुगिएको भन्दै ठेकेदारलाई पत्राचार गरिसकिएको उनले बताए । असार मसान्तसम्ममा काम सक्ने कुनै संभावना र लक्षण नरहेको प्राविधिक बताउँछन ।

सुरुका वर्षमा मुआब्जाका कारण काम रोकिए पनि २०७९ असोजमा मुआब्जाको काम सकिएको थियो । साथै जग खन्ने क्रममा ड्रिल मेशिनै भाँचिएपछि डिजायन संसोधन गर्नुपरेको सडक डिभिजनले जनाएको छ । विशेष गरी ठेकेदारको ढिलासुस्ती, मुआब्जा समस्या, कोरोना र डिजायन परिवर्तन गर्नुपर्ने भएकाले ढिलाई भए पनि ठेकेदारको चरम लापारवाही देखिएको इन्जिनियर प्रधानको भनाई छ ।  ठेकेदारले असारभित्र काम सक्ने प्रतिवद्धता जनाउँदै फेरी पनि म्याद थपको लागि निवेदन दिएको छ । तर उसको कामको गति हेर्दा सक्ने लक्षण देखिदैन । ‘सरासर काम गरेको भए २ महिनामा सकिन्थ्यो । तर ठेकेदारले काम नगरेकै कारण ढिला भयो’ डिभिजन सडक प्रमुख नवराज बास्तोलाले भने, ‘अव पनि समयमै काम नसके ठेक्का तोड्छौ ।’

सडक फराकिलो र पुल साँघुरो हुँदा व्यस्त शहरको यस ठाउँमा पटकपटक सवारी दुर्घटना हुने गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार उक्त पुलमा चालु वर्षमा मात्र ४ वटा सवारी दुर्घटना भएर ८ जना घाइते भएका छन । यसअघि उक्त पुलमा दुर्घटनामा परि केहीले ज्यान गुमाएका छन । कतिपय सवारी साधन खोलामा खसेका छन । दर्जनौ घाइते भइसकेका छन ।

पोखरा–४ का वडाध्यक्ष देवकुष्ण पराजुलीले पुल कसरी र कहिले बन्छ भन्ने ठेगान नभएकाले अन्यौल भएको बताए । फिर्के पुल नबन्दा वडा ४ को गणेश मार्गको सडक बनाउन नपाएको उनले गुनासो गरे । मार्गका लागि गतवर्ष र यो वर्ष बजेट बिनियोजन भए पनि काम हुन पाएको छैन । ‘साँघुरो पुलका कारण दुर्घटना भइरहेका छन’ उनले भने, ‘किरीयापुत्री भवन पनि सही सदुपयोग हुन पाएको छैन ।’ उनले पुल निर्माणमा ठेकेदारको चरम लापारवाही र सडक डिभिजनको कमजोरी रहेको बताए । ठेकेदार सम्पर्कमानै नआउने दुखेसो उनले पोखे ।

ठेकेदार कम्पनीका साइड प्रतिनिधि सुमन पौडेलले असारभित्रै काम सक्नेगरी लागिपरेको दावी गरे । सुरुमा मुआब्जाका कारण साइड क्लियर नभएर ढिला भएको भन्दै उनले अहिले पनि खानेपानीको पाइप र नहरका कारण ५० प्रतिशत साइड क्लियर नभएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->