बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघका सदस्यहरुको दुर्घटना बीमा

पोउवा संघका सदस्यहरुको दुर्घटना बीमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८१, बिहिबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले बताए ।

प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग बीमा सम्झौता गरिएको छ । सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एकलाख रुपैयाँसम्मको बीमा रकम प्रदान गरिनेछ । सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका छन । उक्त अवसरमा संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य बसन्त उदास र राजेन्द्रकुमार लालचन तथा पूर्वअध्यक्ष नारायण कोइरालासहित नेपाल बीमा प्राधिकरणका गण्डकी प्रमुख केशवप्रसाद दाहाल, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश नियन्त्रक हरिप्रसाद श्रेष्ठ, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको उपस्थिति रहेको थियो ।
‘उद्योगी÷व्यवसायीले व्यक्तिगत रुपले पनि बीमा गराउनुहुन्छ, हामीले चाहिँ हाम्रा सदस्यको हकमा संघको तर्फबाट सानो भए दायित्व निर्वाह गरौँ भन्ने हेतुले यो निर्णय गरेका हौँ,’ अध्यक्ष प्रजापतिले भने, ‘नवीकरण गर्नुहुने सम्पूर्ण सदस्यलाई यो कार्यक्रममा समेटिने छ ।’

सम्झौता अनुसार दुर्घटनादेखि औषधि उपधारसम्मका सम्पूर्ण सेवा सदस्यले प्राप्त गर्नेछन् । संघले सम्पूर्ण सदस्यको बीमा गरिएकाले संघको सदस्यता लिँदा नागरिकतामा उल्लेख गरिएको नाम थर नै लेख्न पनि सदस्यलाई अनुरोध गरेको छ । पोखरा उद्योग वाणिज्य संघका सदस्यले चैत मसान्तसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्छ । महासचिव बलराम आचार्यका अनुसार कथंकदाचित छुटेमा अतिरिक्त दस्तुरसहित असार मसान्तसम्म नवीकरण गर्ने समयावधि रहन्छ । नयाँ सदस्यको हकमा चाहिँ संघले बाह्रै महिना सदस्यता प्रदान गर्ने उनले बताए । स्थानीय कर प्रशासनमा दर्ता गरेको प्रमाणपत्रसहित आवेदन दिनेलाई छानबिनपछि सदस्यता प्रदान गरिने उनको भनाइ छ ।

सदस्यहरुलाई थप सुविधा प्रदान गर्ने हेतुले यसअघि नै पोखराको मणिपाल अस्पतालसँग स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुटसम्बन्धी सम्झौता, पृथ्वी राजमार्ग बस संचालक कम्पनीसँग बस भाडामा १५ प्रतिशतसम्म छुट र अन्नपूर्ण केलबकारसँग टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । त्यसरी छुट लिन संघको परिचयपत्र भने देखाउनुपर्नेछ । संघले सदस्यहरुको परिचयपत्रलाई डिजिटल बनाउँदै अझ व्यवस्थित अभिलेखीकरण गर्ने निर्णय गरेको कोषाध्यक्ष दीनेश बास्तोलाले जानकारी दिए । उनले चैत मसान्तसम्म नवीकरण गराउन छुट भएका सदस्यलाई पनि समयमै नवीकरण गराइ यी छुटको उपयोग गर्न आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->