पोखरा/पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धाको प्रतिवेदन बुझाएको छ । विहिबार राती पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन ।
मेयर धनराज आचार्यले विगत लामो समयदेखी विज्ञसहितको टोली राखेर प्रतिवेदन बुझाएको र अब प्रहरीले नै अनुसन्धान गर्ने बताए । ‘खासगरी सूर्यदर्शन सहकारी लिमिटेडबाट पिडित हुनुभएका साथिहरुको हामीलाई निवेदन प्राप्त भएपछि यस्को विस्तृत रुपमा के भएको हो भनेर हामीले चार्टर एकाउन्टेन, वित्तीय साथीहरु र नेपाल प्रहरीको सिआईबीबाट तोकेर आउनुभएको साथिहरुले पोखरा महानगरपालिकाको सहकारी समितिको रोहवरमा उसले तोकेको प्रतिनिधिको सहभागितामा यसको छानविन गरेर एउटा प्रतिवेदन प्राप्त भएको छ’ मेयरले भने, ‘जम्मा ३४ सय १९ पेजको ९ वटा ठेली प्रतिवेदन प्राप्त भएको छ यसमा के छ भन्ने कुरा हामीलाई थाहा छैन अब प्रहरीलाई हामी प्रदान गरेका छौं ।’
उनले औपचारिक रुपमा बुझाएको बताए । कोहि पनि अन्यायमा पर्न नहुने र कोहि दोषि उम्कन नहुने उनले बताए ।
सहकारी पिडित तथा सहकारी पिडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले माघ २० गते सहकारी ठगी प्रकरणमा पुरक छानविन गर्न पोखरा महानगरपालिका, प्रहरीसहितको टोलीले प्रतिवेदन तयार पारेको बताए । आफुहरुलाई आफ्नो रकम पाउनुपर्ने पिडितहरुको माग थियो । सुर्यदर्शन सहकारीका पिडितसहितको टोली महानगरमा पुगेको थियो ।





