बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठको प्रतिवेदन कास्की प्रहरीको हातमा

गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठको प्रतिवेदन कास्की प्रहरीको हातमा

विभागीय मन्त्री मुछिएको सहकारी प्रकरणमा कास्की प्रहरीले के गर्ला त ? पीडितहरुले चासोका साथ हेरिरहेका छन ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

पोखरा/गृहमन्त्री रवि लामिछाने सहकारीमा जोडिएको पहिलो घटना हो, कास्कीको सूर्यदर्शन सहकारी । यही सहकारीमा मुछिएको लामिछानेको नाम देशभरका अन्य सहकारीमा पनि मुछिएको छ ।
तर, उनले इन्कार गर्दै आएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ भने संसदीय छानविन समितिको माग राखेको छ ।
रुपन्देहीमा त सरकारी वकिलले गरेको अभियोजनमा नै लामिछानेको नाम छ । तर, त्यहाँ भएको भनिएको रवि आफू नभएको उनको प्रष्टोक्ति छ ।
सूर्यदर्शन सहकारीका पीडितले त गत माघ २२ गते नै लामिछानेविरुद्ध पूरक उजुरीसमेत दिएका छन । उक्त उजुरीपछि पोखरा महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो ।
झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहिबार कास्की प्रहरीले बुझेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका ९ वटै ठेली कास्की प्रहरीका डिएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन । अब उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने काम प्रहरीको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३४ सय ९ पेजको वित्तीय स्थितिका विषयमा थप विश्लेषण गर्दै तयार पारेको वित्तीय अपचलन मुद्दाको प्रतिवेदन प्रहरीलाई बुझाएको पोखराका मेयर धनराज आचार्यले बताए ।
बिहीबार साँझ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउँदै मेयर आचार्यले विगत लामो समयदेखि विज्ञसहितको टोली राखेर अनुसन्धान गर्दै प्रतिवेदन तयार पारेको र प्रहरीलाई औपचारिक रुपमा बुझाएको बताए । अब सूर्यदर्शनको विषयमा प्रहरीलेनै छानविन गर्नुपर्ने पनि उनको भनाइ छ ।


‘खासगरी सूर्यदर्शन सहकारी लिमिटेडबाट पीडित हुनुभएका साथीहरुले हामीलाई निवेदन दिनुभएको थियो । निवेदनपश्चात विस्तृत रुपमा के भएको हो भनेर हामीले चार्टर एकाउन्टेण्ट, वित्तीय क्षेत्रका साथीहरु र नेपाल प्रहरीको सिआइबीबाट तोकेर आउनुभएको साथीहरुले पोखरा महानगरपालिकाको सहकारी समितिको रोहवरमा उसले तोकेको प्रतिनिधिको सहभागितामा यसको छानविन गरेर एउटा प्रतिवेदन प्राप्त भएको छ,’ मेयर आचार्यले भने, ‘जम्मा ३४ सय १९ पेजको ९ वटा ठेली प्रतिवेदन प्राप्त भएको छ । यसका के छ भन्ने कुरा हामीलाई थाहा छैन । अब प्रहरीलाई हामी प्रदान गरेका छौं ।’
उनले औपचारिक रुपमा बुझाएको बताए । कोही पनि अन्यायमा पर्न नहुने र दोषी उम्कन नहुने उनले बताए ।
अर्कातर्फ पूर्व डिआइजी छविलाल जोशीको घरमा भेटिएको सहकारीको सफ्टवेयरमाथि सिआइबीले पनि छुट्टै छानविन गरिरहेको छ । विभागीय मन्त्री मुछिएको सहकारी प्रकरणमा कास्की प्रहरीले के गर्ला त ? पीडितहरुले चासोका साथ हेरिरहेका छन ।
रवि लामिछाने यो सहकारीमा मुछिएको प्रतिवेदन गत साउनमा नै सार्वजनिक भएको थियो । अहिलेको प्रतिवेदन त्यसैको विस्तृत रुप भएको प्रतिवेदन लेखनमा संलग्न एक अधिकारीले बताए ।
सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको नाम जोडिएको हो ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक थिए । प्रबन्ध निर्देशकबाट राजीनामा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरी अध्यक्ष बनेका हुन् । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष हुन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको १ करोड रुपैयाँ पुलेसो (ब्रिज) ऋण गोरखा मिडिया नेटवर्क प्रालिले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा रवि लामिछानेको नाम एक ठाउँमा मात्र उल्लेख छ । उनले कुन मितिमा ऋण लिएका थिए भन्ने प्रतिवेदनमा भेटिँदैन । उनको नाममा रहेको पुलेसो ऋण गोरखा मिडिया नेटवर्क प्रालिले तिरेको भन्ने मात्र प्रतिवेदनमा उल्लेख छ ।
‘रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको’ प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघिबढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो ।
अनिल लामिछाने र दीपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए ।
उनीहरुले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८/०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९÷२०८० र २०८०÷८१ को कारोवारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरु, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरु र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरुको अध्ययन/अनुसन्धान गरेका थिए ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/०८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोबार भएको देखिएको थियो ।
अहिलेको प्रतिवेदनमा भने २०७२ साल यतादेखिकै कारोबार, ऋण लिएको दिएको, भुक्तानी लगायत सम्पूर्ण व्यक्ति, व्यक्तिको विवरण समेटिएको छ ।
पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीका अनुसार को कसले कुन कुन अध्यक्षको पालामा कति हिनामिना भएको छ भन्ने उल्लेख छ । तिवारी नेतृत्वको समितिले नै यो प्रतिवेदन तयार पारेको हो ।
‘भौतिक रुपमा जे जति प्रमाण भेट्यौँ, ती सबैलाई समेटेका छौँ । जिष्ट कुरा त पहिले नै आएको हो,’ उनले भने ।
गृहमन्त्री रवि लामिछाने मुछिएको विषय पनि प्रतिवेदनमा उल्लेख गरिको उनले बताए ।
‘गोर्खा मिडियालाई गएको भन्ने नै हो । अघिल्लो प्रतिवेदनमा जे थियो, त्यही नै हो । थप चाहिँ हामीले भेटेनौँ,’ उनले भने ।
त्यतिबेला लामिछानेले पुलेसो कर्जा लिएर तिरेको, गोर्खा मिडियामा आबद्ध हुँदा नै कारोबार भएको विषय प्रतिवेदनमा समेटिएको उनले बताए ।
सूर्यदर्शन सहकारीबाट पीडित बनेकाहरुले छुट्टै संघर्ष समिति बनाएका छन् । उनीहरुले नै प्रतिवेदन बनाउनेदेखि लिएर दोषीलाई कारवाहीको मागसहित बेलाबेलामा प्रदर्शन पनि गर्दै आएका छन ।
रवि लामिछानेमाथि पनि उनीहरुले नै पूरक उजुरी दिएका हुन । तर, प्रहरीले भने त्यतिबेला दर्ता गर्न आनाकानी गरेको थियो भने प्रतिवेदन आएपछि अगाडि बढ्ने बताएको थियो ।
सहकारी संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले भने, ‘चार महिनापछि बल्ल प्रतिवेदन आएको छ, अब यो सँग जोडिएका मान्छेहरुलाई प्रहरी कार्यालयले कसरी अगाडि बढाउँछ, कोकोलाई प्रतिवादी बनाउँछ त्यो भने हेर्न बाँकी छ ।’
सूर्यदर्शन सहकारीका विषयमा प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी वसन्त कुँवरले गृहमन्त्री लामिछानेको संलग्नता नरहेको बताएका थिए ।
आईजीपीको उक्त भनाइपछि बचतकर्ता झनै रुष्ट बनेका छन् । त्यस विषयमा उनीहरूले कास्की प्रहरी प्रमुखलाई पनि भेटेका थिए । तर, उनीहरूले चित्तबुझ्दो जवाफ पाएनन् ।
नयाँ प्रतिवेदनमा झनै विस्तृतका साथ उल्लेख गरिएको हुँदा लामिछानेको नाम यहाँ पनि आउने उनले बताए । ‘पुराना प्रतिवेदनमा जोजो मान्छे जोडिनुभएको छ, निश्चय नै नयाँमा पनि जोडिनुहुनेछ, अझ सबुत प्रमाणसहित आउनेछ भन्नेमा हामीले विश्वास लिएका छौँ,’ उनले भने ।
कास्की प्रहरीले भने प्रतिवेदन नहेरी केही भन्न नसकिने जानकारी दियो । कास्की प्रहरीका डिएसपी वसन्त शर्माले प्रतिवेदन आफूले बुझेको तर अध्ययन गरि नसकिएको जनाए ।
‘अब प्रतिवेदन नहेरी केही भन्न सकिँदैन । प्रतिवेदन अध्ययन गरेपछि नै अरु प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । तीमध्ये केही पक्राउ परेका छन् भने मुख्य आरोपी जीबी राई फरार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->