पोखरा/ पोखरा महानगरपालिकाले पुरक अनुसन्धान सकेर विहीबारमात्रै कास्की प्रहरीलाई बुझाएको सूर्यदर्शन बचत तथा ऋण सहकारीको प्रतिवेदनले सबैभन्दा बढी सहकारीका तत्कालिन अध्यक्ष जीवी राईको जिम्मामा २९ करोड भन्दा बढी रकम अपचलन भएको भेटिएको छ ।
सहकारी स्थापनादेखि नै सहकारी ऐन, नियमावली र नियमनकारी निकायले विभिन्न मितिमा जारी निर्देशन अनुरुप संचालन नभएको पाइएको हो । पोखरा महानगरपालिकाको छानविन समितिको प्रतिवेदन अनुसार सहकारीले नियमसंगत संचालन नभई संचालक तथा विभिन्न व्यक्तिका कृत्रिम कर्जामार्फत बचतकर्ताको रकम दुरुपयोग भएको पाइएको हो .
सहकारीविज्ञ दीपकप्रकाश आचार्य र एफसीए अनिल लामिछानेले उक्त सहकारीको पुरक अनुसन्धान गर्दा सहकारीमा रहेको सर्वसाधारणको बचत रकम हिनामिना भएको देखिएको हो । अनुसन्धानको प्रतिवेदन अनुसार २०८० भदौ २१ सम्मको संस्थाले प्रयोग गरेको कम्प्युटर र लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७ सय वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ रहेको छ । त्यसमध्ये कर्मचारी पेश्कीका नाममा अथवा अन्य पेश्की खाताबाट ठूलो रकमको कारोवार गरेको देखिएको छ । विभिन्न मितिमा पेश्की प्रदान गर्ने तथा उक्त पेश्की रकम विभिन्न कृत्रिम कर्जा खाताका माध्ययमबाट पेश्की फछ्र्यौट गर्ने गरिएको पनि प्रतिवेदनले औल्याएको छ ।
सहकारीका ४ सय ३३ वटा कर्जा खातामा कुल कर्जा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ मौज्दात देखिन्छ । अधिकांश कर्जामा कर्जा लगानीका लागि गरिने न्यूनतम प्रक्रिया (कर्जा लिखत तमसुक समेत) अवलम्वन नगरेको अवस्था रहेको देखिएको छ । प्रतिवेदन अनुसार शंकास्पद तथा दुरुपयोग भएका कर्जा तथा पेश्कीसंग सम्बन्धित निष्कर्ष यसप्रकार रहेका छन ।
प्रतिवेदन अनुसार ज्ञानबहादुर बम्जन अध्यक्ष भएको बेला प्रवाह भएका तथा आवस्यक कागजात तथा प्रक्रिया पुरा नभएका कर्जा खाताहरुको कर्जा रकम १ करोड ५४ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ रहेको छ ।
यसैगरी गितेन्द्रबाबु (जीवी) राई अध्यक्ष भएको समयमा ११ करोड ८५ लाख ५६ हजार २४ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । साथै आवस्यक कागजात तथा प्रक्रिया पुरा भएको नपाइएका कर्जा खाताहरुको कर्जा रकम १७ करोड ४६ लाख ७४ हजार ८ सय ८८ रुपैयाँ रहेको पाइएको प्रतिवेदनमा छ । यसैगरी राईकै अध्यक्षकालमा कर्मचारी पेश्की खातामार्फत प्रयोग गरी मौज्दातमा रहेको पेश्की २७ लाख १८ हजार र बचत रकम मौज्दात नभको बचत खातामा ब्याज खर्च देखाई ३८ लाख ७२ हजार प्रयोग गरिएको रकम सहित २९ करोड ९८ लाख २० हजार ९ सय ३१ रुपैयाँ जीवी राई जिम्मेवार रहनुपर्ने देखिएको छ ।
त्यस्तै भूपेन्द्र राई अध्यक्ष भएको बेला ९२ लाख ५४ हजार ४ सय २० रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ । उनकै पालामा आवस्यक कागजात तथा प्रक्रिया पुरा नगरी ५३ करोड ७ लाख ७४ हजार २७ रुपैयाँ कर्जा प्रवाह भएको र कर्मचारी पेश्की खातामार्फत ७ लाख ३६ हजार ५ सय ६० रुपयाँ प्रयोग गरि जम्मा ५४ करोड ७ लाख ६५ हजार ८ रुपैयाँ भूपेन्द्र राई जिम्मेवार रहुनपर्ने प्रतिवेदनले औल्याएको छ ।
यस्तै थानबहादुर बुढा मगरको अध्यक्षको कार्यकालमा १ करोड ३८ लाख ९ हजार ६ सय ७१ रुपैयाँ कर्जा प्रवाह भएको छ । उनकै कार्यकालमा आवस्यक कागजात तथा प्रक्रिया पुरा नभई १ करोड १२ लाख ९ हजार ३ सय ९४ रुपैयाँ कर्जा प्रवाह भएको थियो । साथै १९ लाख ९६ हजार ६ सय ५० रुपैयाँ कर्मचारी पेश्की खातामार्फत प्रयोग भएको थियो । यीसहित बुढामगरको जिम्मेवारीमा २ करोड ७० लाख १५ हजार ७ सय १६ रुपैयाँ रहेको प्रतिवेदनले औल्याएको छ ।
यसैगरी सहकारीको संचालक सदस्य भइसकेका एमाले निकटको युवासंघका नेता एवं पोखराका व्यवसायी शिबबहादुर गुरुङ (महेन्द्र भोटे) संग प्रत्यक्ष सम्बन्धित कर्जा १७ करोड ७ लाख ८३ हजार १ सय ४९ रुपैयाँ र कर्मचारी पेश्की खातामार्फत २२ हजार १ सय प्रयोग गरी १७ करोड ८ लाख ५ हजार २ सय ४९ रुपैयाँ गुरुङको जिम्मामा रहेको देखिएको प्रतिवेदनमा छ ।
साथै सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसंग प्रत्यक्ष सम्बन्धित कर्जा ३० लाख र कर्मचारी पेश्की खातामार्फत प्रयोग गरिएको ४७ लाख ३२ हजार ३ सय २७ रुपैयाँ जिम्मामा रहेको औल्याइएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ५ करोड ५८ लाख ९ हजार २ सय ७१ रुपैयाँ कर्जा भुक्तानी भएको छ । साथै नेचर नेष्ट नामक संस्थाको नाममा १ करोड ७८ लाख ५४ हजार ८ सय ८१ रुपैयाँ कर्जा भुक्तानी भएको छ भने नेचर हर्वस्लाई २ करोड ५३ लाख १३ हजार १ सय ९५ रुपैयाँ कर्जाका नाममा भुक्तानी दिइएको छ । गोर्खा ग्रुप मल्टी इन्भेष्टका नाममा १ करोड १ लाख ७९ हजार १ सय ८४ रुपैयाँ कर्जाका नाममा भुक्तानी गएको देखिएको छ ।
यो पुरक अनुसन्धानमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको छ । उनको नामबाट एक करोड रुपैयाँ कर्जा लिएको देखिएको छ ।
यस्तै हेमन्त अधिकारीलाई २ करोड ३१ लाख ५२ हजार ५ सय २५ कर्जा र १ लाख ७० हजार कर्मचारी पेश्की स्वरुप भुक्तानी दिइएको छ । नेत्रपाणी बास्तोलालाई २१ लाख ७५ हजार कर्जा दिइएको छ । यसका साथै स्वर्णलक्ष्मी सहकारी काठमाडौंबाट कर्जा रकम, आसामी, मौज्दात र बाँकी सापटीसहित १ करोड ३ लाख ३७ हजार ७ सय ३९ रुपैयाँ लिनुपर्ने अनुसन्धानमा देखिएको छ । प्रचलित सहकारी ऐन नियमावली विपरीत संचालक समितिको निर्णयविना कर्जा रकमको यकिन नगरी संस्था समस्याग्रस्त भएपछि शेयर रकमलाई फिर्ता गरी कर्जा खातामा मिलान गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।
स्थितर सम्पत्ती शिर्षकमा रहेका भवन र जग्गाका नाममा खाता रहेको, उक्त खाता अनुसार सम्पत्ति नदेखिएकाले यस्ता खातामार्फतसमेत सर्वसाधारणको बचत दुरुपयोग गरेको पाइएको हो । तर संस्थाका नाममा भवन खरीद गर्न २०७८ कात्तिक १७ गतेदेखि २१ गतेसम्म सम्पन्न साधारण सभाले ७ करोड २५ लाख रुपैयाँ छुट्टाउने निर्णय गरेको भए पनि भवन खरीद गरेको कागजात भने नभेटिएको पाइएको हो । भौतिक कागजात तथा कारोवारको आधारमा विश्लेषण गर्दा १३ करोड २० लाख रुपैयाँका नियमित प्रकृतिका कर्जा खाता खोलिएका छन ।
सहकारी ऐन, नियमावली, निर्देशन तथा संस्थाको स्वीकृत विनियम अनुसार आवस्यक कागजात तथा प्रक्रिया पुरा भएको नपाइएको कर्जा खाताहरु तथा कृत्रिम कर्जाका सम्बन्धमा तत्कालिन समयका अध्यक्ष, निर्णयमा संलग्न पदाधिकारी तथा संचालक, ऋण उपसमितिका संयोजक र सदस्य तथा मुख्य जिम्मेवारीमा कर्मचारीसमेत जवाफदेही हुनुपर्ने अनुसन्धानको निष्कर्ष छ ।
३ महिना लगाएर गरिएको सहकारीको पुरक अनुसन्धानको ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन विहीबार कास्की प्रहरीलाई उपलब्ध गराइएको थियो । पीडितले गत माघमा दिएको पुरक जाहेरीका आधारमा प्रहरीको सिआईवीले प्रतिवेदन बनाएको थियो । पीडितकै मागपछि पोखरा महानगरले पनि छानविन गरेको हो ।
पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीका अनुसार कुनकुन अध्यक्ष भएको बेला कोकसले कति हिनामिना गरेको छ भन्ने प्रतिवेदनमा उल्लेख भएको बताए । तिवारीका अनुसार सहकारीको १ अर्ब ३५ करोड मध्ये १५÷२० करोड फिर्ता आउने संभावना रहे पनि अरु सबै रकम अपचलन भएको छ । अनुसन्धानका क्रममा ४ सय ४३ ऋणी रहेको पाइएको उनले बताए ।





