पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रमको नगरप्रमुख धनराज आचार्यले सुभारम्भ गरे ।
जुनसुकै उमेरका दीर्घरोगी र ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुराई ज्येष्ठ नागरिकको जीवनलाई सुखी र खुशीसहित तनावमुक्त बनाउने तथा थप उपचारको आवस्यकता देखिएकालाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाउने तथा नियमित फ्लोअपका लागि स्वास्थ्य संस्थामा परामर्श तथा राय प्रदान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गरिएको हो । यसले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने कुरालाई नागरिकको चेतनामा परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीले बताए ।

सुवेदीका अनुसार वडामा ५ सय जनाभन्दा बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन । दीर्घरोगी पनि झन्डै ८० जनाभन्दा बढी रहेका छन । अवदेखि उनीहरुलाई नियमित रुपमा घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिइनेछ । सेवा अन्तर्गत सामान्य परीक्षणमा प्रेसर, तापक्रम, नाडीको चाल, श्वासप्रश्वास, जन्डीस, अक्सिजनको लेवललगायत रहनेछन । यसैगरी मुटु तथा रक्तनलीका रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धि रोग, दम, क्यान्सर (स्तन र पाठेघरको क्यान्सरसहित) नसर्ने रोगहरुबारे जानकारी दिइनेछ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारिरीक क्रियाकलाप वा व्यायम, मद्यपानको प्रयोगले हुने असरबारे पनि जानकारी उपलब्ध हुनेछ । यस्तै जीवनशैली सुधारमा ऐक्यवद्धता जाहेर गर्दै सन्तुलन आहार, सममयमै निद्रा, व्यायम, आराम, मनोरंजनको आवस्यकताबारे पनि जानकारी दिइनेछ । साथै पारिवारिक तथा सामाजिक समर्थनको लागि परामर्श पनि रहनेछ ।

दीर्घरोगी र ७० वर्ष पुरा गरेका आम नागरिकको घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्दा प्रत्येक २ महिनाको एकपटक सेवा प्रदान गर्ने व्यवस्थापनका साथै आवस्यकताको आधारमा विशेष विरामीको लागि जुनसुकै समयमा पनि थप पटक सेवा दिन सकिने गरी कार्ययोजना बनाइएको छ ।
महानगर प्रमुख आचार्यले यो पाइलट प्रोग्रामको रुपमा लिइएको र यसबाट आउने परिणामका आधारमा आगामी वर्ष अन्य वडामा पनि विस्तार गरिने बताए । वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले कार्यक्रमको सही कार्यान्वयनका लागि सरोकारवाला सबै निकायको साथसहयोगको आवस्यक पर्ने बताए । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले यो कार्यक्रमलाई आवस्यक सबै प्रकारका सहयोग उपलब्ध हुने प्रतिवद्धता जनाए ।





